• Saturday, 25 May 2013
  • Nepal Time: 04:28 PM
  • Japan Time: 07:43 PM

बीबी एअरवेजमा नेपालीले पनि लगानी गर्न सक्ने

टोक्यो । यही सेप्टेम्बर १३ तारिखबाट नेपालबाट अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरी सेवा सुरु गर्न लागेको बीबी एयरवेजले विदेशमा बस्ने नेपालीहरुले पनि लगानी गर्न सक्ने वताएको छ । एअरवेजमा लगानीको औपचारिक आब्हान अगस्त ४ तारिख शनिवार सिन्जुकु प्रिन्स होटलमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम शनिवार दिउँसो साढे २ बजेबाट सूरू हुनेछ । जापानबाट आगामी अक्टोबर १३ तारिकदेखि हप्ताको २ उडान गर्ने घोषणा गरेको उक्त एयरवेजले पहिलो उद्‍घाटन उडान यही सेप्टेम्बर १३ का दिन काठमाडौंबाट मलेसियाको क्वालालम्पुर गर्ने तय गरेको छ । बीबी एयरवेजले काठमाडौंबाट हङकङ र ताइवानको उडान पनि सेप्टेम्बरबाटै थाल्ने यस अघि नै जानकारी गराइसकेको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष समेत रहेका बीबी एयरवेजका अध्यक्ष भवन भट्टले कार्यक्रमबारे जानकारी गराउँदै यो एयरवेजको शुरुवात हामी सबै नेपालीहरुको गर्वको विषय भएको र गैरआवासीय नेपालीहरुले उठाउँदै आएको सामुहिक लगानीको लागि पनि उपयुक्त अवसर भएकाले समस्त जापानबासी नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर खुल्ला मनले सक्दो लगानी गर्न आब्हान गर्नु भएको छ ।

उहाँले बीबी एयरवेजको शुरुवातलाई आफ्नो व्यक्तिगत नभएर सामुहिक अभियान भएको बताउँदै लगानी कर्ताहरुलाई आकाशमा उडिरहेको जहाजलाई हेर्दै आफ्नो लगानी रहेकोमा जति गर्व हुनेछ त्यो भन्दा बढी राष्ट्रका लागि योगदान गर्ने अवसर उपलब्ध हुने भएकाले पनि लगानीको लागि आब्हान गर्न गैरहेको जानकारी गराउनु भयो । बीबी एयरवेजले दिएको जानकारी अनुसार लगानी कर्ताहरुले कम्तिमा एक युनिट लगानी गर्न सक्नेछन् भने जम्मा लगानीको ३० प्रतिशतमात्रै गैरआवासीय नेपालीहरुका लागि छुट्याइएको छ । १० मान येनको एक युनिट रहने उक्त लगानी योजनामा १० युनिट लगानी गर्नेहरुका लागि गोल्डकार्डको व्यवस्था गरिने र उडान हुने क्षेत्रबाट नेपालसम्मको दुइतर्फी टिकट वर्षमा एक पटक निशुल्क उपलब्ध गराइने छ । गोल्डकार्ड बाहकलाई र एक युनिट मात्रै लगानी कर्तालाई पनि निर्धारित भन्दा ५ किलो बढी सामान लान पाउने व्यवस्था गरिने भएको छ ।

‘देश बनाउनका लागि संसारलाई नेपालको नजिक ल्याउने’ (Building the nation by bringing the world closer to Nepal) उद्देश्यका साथ शुरु हुन लागेको यो अभियानमा सहभागी हुनु भनेको लगानी कर्ताहरुका लागि पनि विरलै आउने अवसर भएको र सहकार्यको नमूना प्रदर्शन गर्ने मौका समेत भएकाले लगानीकर्ताहरुको रुचि बढिरहेको छ ।

Write a Comment

थप हेडलाइनहरु