• Friday, 17 August 2018
  • Nepal Time: 08:28 PM
  • Japan Time: 11:43 PM

‘छोरीहरुका लागि बाँचेकी छु’

pampha dhamalaपम्फा भट्टराई

अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मंगलबार जापानमा हत्या गरिएका विष्णुप्रसाद धमलाको समाचार प्रमुखताका साथ प्रकाशित-प्रसारित गरे । विष्णुप्रसादलाई कुटपिट गर्ने एक युवक र एक युवतीलाई जेल सजाय तोकिएको थियो । आफ्नो पतिको हत्यामा संलग्न अपराधीलाई तोकिएको सजायप्रति विष्णुप्रसादकी श्रीमती पुष्पा भट्टराई भने त्यति खुसी छैनन् । एक निजी स्कुलमा अध्यापन गरिरहेकी पुष्पाको चिन्ता दुई छोरी हुर्काउने र पढाउनेमा छ । उनी नयाँ पत्रिकासँग यसरी खुलिन् :

०६८ पुस मसान्तको साँझ जापानबाट उहाँले फोन गर्नुभयो । र, भन्नुभयो, ‘हामी त माघेसंक्रान्ति मनाउन लागेको । तिमीहरू पनि राम्रोसँग मनाउनु ।’ चाडबाड भनेपछि हुरुक्कै हुने उहाँको बानी थियो । रमाइलो गर्न, खानपिन गर्न उहाँ असाध्यै सोख राख्नुहुन्थ्यो । थरीथरीका अचार, सुकुटी खान उहाँलाई खुब मन पर्थ्यो । भोलिपल्ट बिहानै पाँच बजेतिर गाउँबाट जेठाजुले फोन गर्नुभयो । उहाँले सोध्नुभयो, ‘तिमीलाई सन्चै छ ? केही भएको त छैन ? जापानबाट फोन आयो ? म निद्रामै थिए । उहाँको यी सबै प्रश्नले मन ढक्क फुल्यो । एक किसिमको डर लागेर आयो । ‘छैन । यता त सब ठीक छ । के भयो र ?’ मैले भनेँ ।’केही होइन । बिहानै कान्छोलाई कसले फोन गर्‍यो कुन्नि, ऊ त निस्केर हिँड्यो !’ उहाँले भन्नुभयो ।

 पछाडिबाट ससुरा ‘केही नभन, उसलाई थाहा छैन होला’ भनिरहनुभएको थियो । त्यतिवेलै मेरो मनमा डर पलायो । फोन राखेपछि मलाई देवरबाबुले फोन गरेर ‘दाइको एक्सिडेन्ट भएछ, म आउँदै छु’ भन्नुभयो । अब भने केही भयो भन्नेमा शंकै रहेन । मैले आफ्नो मिल्ने साथीलाई फोन गरँे । उसलाई सबै कुरा सुनाएँ । ऊ पहिला केही पनि बोलिन, पछि ‘म आउँछु’ भनी ।त्यसपछि त घरमा मान्छे आउने क्रम रोकिएन । म भने आधा बेहोस जस्तै थिएँ । राति खबर आयो,उहाँ रहनुभएन ।त्यसवेला किन रहनुभएन भन्ने प्रश्न मनमा थिएन । मनमा यत्ति थियो, उहाँ अब रहनुभएन ।त्यो दिन राति त्यही रेस्टुरेन्टमै बस्नुभएछ । साथीहरूले हाम्रै रेस्टुरेन्टमा पार्टी गरेकाले चाँडो बन्द गर्न पनि मिलेनछ । बिहानको चार बजिसकेको रहेछ । बिहान घर गएर नुहाइधुवाइ गरी फेरि रेस्टुरेन्ट आउने भन्दै उहाँ र भान्जा निस्कनुभएको रहेछ । बाटोमा अचानक मेरा श्रीमान्लाई ती केटाकेटीले पिट्न थालेछन् । तर, उहाँलाई सघाउने कोही थिएन । भान्जा भन्नुहुन्छ, ‘मैले कोसिस गरेको, मलाई नै पिटे ।’ भान्जाले बोकेर हस्पिटल लैजाँदै गर्दा उहाँको मृत्यु भइसकेको रहेछ ।

 उहाँको ढाडमा समस्या थियो । निहुरिन सक्नुहुँदैनथ्यो । उनीहरूले त्यसरी कुट्दा प्रतिकार गर्न पनि सक्नुभएन होला । त्यो घटना कल्पना गर्दा मात्र पनि मेरा आँखा रसाउँछन् । फेरि, मैले त्यसवेला सबै कुरा सुन्न पनि सकिनँ । पछि सोधेको पनि छैन । हिम्मत नै छैन ।घटना भएको सात दिनमा उहाँको लास आयो । लास ल्याउन उहाँकी एक जापानिज साथीले सघाएकी थिइन् । उनले त्यसवेला हामीलाई ठूलो गुन लगाइन् ।म पहिला पनि एक्लै थिएँ । तर, साँझपख इन्टरनेटमा उहाँलाई कुर्ने बानी परेको थियो । उहाँ र म अनलाइनमा कुरा गथ्र्यौं । उहाँ त्यति खुल्नुहुन्नथ्यो । तर, मलाई मलाई थाहा छ, उहाँ मलाई खुब माया गर्नुहुन्थ्यो ।आजकल पनि जब इन्टरनेटमा बस्छु, यस्तो लाग्छ, उहाँ याहु म्यासेन्जरमा फुतुक्क निस्कनुहुन्छ र बोलाउनुहुन्छ ‘पम्फा के हुँदै छ ?’ तर, यस्तो नभएको पनि एक वर्ष बितिसक्यो । मन अझै उहाँ आउनुहुन्छ जस्तो गर्छ ।अस्ति देवरले भन्नुभयो, ‘अदालतले फैसला गरेछ ।’ तर, मेरो मनमा कुनै प्रतिक्रिया आएन । अहिले पनि मलाई त्यो फैसलाप्रति कुनै भाव छैन । तर, अलि बढी सजाय भइदिए हुनेजस्तो लाग्छ । त्यो सबैको चाँजोपाँजो त्यही जापानिज साथीले गरिरहेकी छिन् । तर, उहाँले त्यो रेस्टुरेन्टमा लगानी भने कानुनी प्रक्रिया पुर्‍याएर गर्नुभएको रहेनछ । त्यो रेस्टुरेन्ट त्यही जापानिजसाथीको नाममा छ । उनले मेरा छोरीहरूको मुख हेरेर केही राहत दिए मात्रै हो, नत्र सबैजना ‘हामीले तिनीबाट आश गर्ने ठाउँ छैन’ भन्छन् ।

श्रीमान् भन्नुहुन्थ्यो, ‘रेस्टुरेन्टमा साठी/सत्तरी लाख लगानी गरेको छु । त्यसैले म पनि ढुक्क थिएँ । छोरीहरूलाई राम्रो भविष्य दिन सकिन्छ भन्ने थियो । छोरीहरूका लागि भनेर छुट्टै बैंक खाता खोलेका छैनौँ ।उहाँ परिवारलाई असाध्यै माया गर्ने मान्छे । श्रीमती, छोरी भनेर मात्रै छुट्टै गर्नुभएन । मलाई पनि उहाँको यो स्वभाव राम्रो लाग्थ्यो । मेरा लागि दिनुहोस् पनि कहिल्यै भनिनँ । भर्खर राम्रो हुँदै थियो । यस्तो पहाड खस्ला भन्ने नै लागेको थिएन ।हाम्रो २०५७ सालमा बिहे भएको हो । जापानमा रेस्टुरेन्ट खोलेको पनि एक वर्ष मात्र पुगेको थियो । त्यसअघि उहाँ जापानमै फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो । विवाह भएको १२ वर्षमा उहाँ म र दुई छोरीलाई छाडेर सदाका लागि जानुभयो । कोही व्यक्तिको नशाको शिकार मेरो संसार भयो । यस्तो वेला उनीहरू जेल जानु, सजाय पाउनु, त्यसले मलाई कुनै प्रतिक्रिया आउँदैन ।

 मेरा दुई सन्तान छन्, जसको आश ममा छ । सासूससुरा बूढाबूढी हुनुहन्छ । म नै रोगी छु । ३१ वर्षको उमेरदेखि उच्च रक्तचापको औषधि लिइरहेको छु । मुटुमा पनि समस्या छ । श्रीमान्को मृत्युपछि डिप्रेसन पनि भयो । त्यसको औषधि पनि खाएँ । मेरो जागिरबाट छोरीहरूको खर्च जेनतेन पुर्‍याएकी छु ।तर, डर लाग्छ, म उनीहरूलाई राम्रो शिक्षा दिन सक्छु कि सक्दिनँ ? मेरा श्रीमान्ले दिने आड-भरोसाको क्षतिपूर्ति केही हुन सक्छ ? कुनै जेलको कोठीले मेरो छोरीहरूलाई बाउ दिन सक्छ ? यी सबै प्रश्नको उत्तर खोज्छु, तर पाउँदिनँ । यो सबै हुँदा पनि मेरो ठूलो चुनौती, जसरी हुन्छ, बाँच्नु छ, छोरीहरूका लागि ।

 नयाँ पत्रिकावाट साभार

One Comment on “‘छोरीहरुका लागि बाँचेकी छु’”

  • Maniraj wrote on 5 July, 2013, 5:59

    Yestai ho sansar tapailai dd vanu ya mummy. Tapaiko ra mero ustai sansar ho but ma k ta man6e tapai k t man6e farak ati ho but hares nakhanus 60ri haru Lai sake samma ramro banaune prayas garnus. Kahile ni bichalit nahunus samaya le sabai kura milaudai laijan6 .tapailai kunai dn testo condition aayo vane samjhanu hola tapaiko sapana pura garna ma sahayog garne6u dukha bujhne Lai matra Thaha hun6 man vitra ko pida , so don’t worry dd ya mummy.
    Plz yo mail Id adaraniya pushpa bhattrai samak6e puryai dinu hola

    [Reply]

Write a Comment

थप हेडलाइनहरु

    None Found