• Thursday, 21 June 2018
  • Nepal Time: 08:03 AM
  • Japan Time: 11:18 AM

राजधानीमा लिटरेचर फेस्टिबल

‘मैले पाँच वर्ष हेर्न पाउनु पनि ठूलो कुरा हो। ९४ वर्षको उमेरमा मैले धैरे कुरा देखेको र भोगेको छु। राणाजीको समयमा किताब पढ्दा पनि पक्राउ परिन्थ्यो, लाइब्रेरीमा बस्नेलाई पनि कारबाही गथ्र्यो। अहिले त पढ्ने र लेख्नेको जमात बढेको छ। अहिलेको संस्कृति अति विशाल भएको छ। उपत्यका त विश्वकै सांस्कृतिक नगरीको रूपमा परिचित भएको छ’, एनसेल लिटरेचर फेस्टिबल २०१३ को उद्घाटन गर्दै राष्ट्रकवि माधव घिमिरेले भन्नुभयो– ‘नेपालको संस्कृति बढेर अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ।’

राष्ट्रकवि घिमिरेले युवा पुस्ताले संस्कृतिको जगेर्ना गर्न थालेकोमा खुसी व्यक्त गर्दै एनसेल नेपालले गरेको योगदानको खुलेर प्रशंसा गर्नुभयो। यो लेखक, कलाकर्मी र सिनेकर्मीहरूको उत्सव हो। यसैले यसको महत्त्व बढेर गएको छ। नौ दशक काटे तापनि युवाजोश बोक्नुभएका राष्ट्रकवि घिमिरेले उपत्यकामा किताबको महत्त्वका निम्ति यो उत्सवले रौनक छाएको उल्लेख गर्नुभयो।

हिजो शुक्रबारदेखि चार दिनसम्म सञ्चालन हुने नेपाल लिटरेचर फेस्टिबलमा झन्डै तीन दर्जनभन्दा बढी साहित्यकारको रचनाको विषयमा अन्तक्र्रिया हुने भएको छ। उद्घाटन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले स्रष्टा र साहित्यको उत्सवले युवा साहित्यकारहरूको हौसला बढेर गएको बताउनुभयो।

एनसेल नेपालले यो फेस्टिबल आयोजना गरेको यो तेस्रो वर्ष हो। लिटरेचर फेस्टिबलमा भारतको ६ र वंगलादेश एवम् बेलायतको एक–एक जना गरी आठ विदेशी साहित्यकारको उपस्थिति रहेको छ। स्रष्टा र सिर्जनाको जगेर्ना गर्न आयोजना गरिएको फेस्टिबलमा लेखक डा. तीर्थबहादुर श्रेष्ठले भूबनोटको रूपमा नेपाल सानो मुलुक भए तापनि प्राकृतिक सौन्दर्यमा नेपाल विश्वको उत्कृष्ट मुलुक भएको बताउनुभयो। ‘जो जहाँ भए पनि नेपाली एक हौं, नेपाल राष्ट्र एक हो’, उहाँको भनाइ थियो। उहाँले हिमाल, पहाड र तराईले सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्ने भएकाले संघीयताको प्रश्न गर्न नहुने धारणा राख्नुभएको थियो। कार्यक्रममा बोल्दै एनसेल नेपालका कर्पोरेट कम्युनिकेसन विज्ञ मिलनमणि शर्माले साहित्यकार र लेखकको जगेर्ना गर्न लिटरेचर फेस्टिबल आयोजना गरेको बताउनुभयो। उहाँले यो महोत्सवले साहित्यकारको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खोल्ने दाबी गर्नुभयो। महोत्सव निर्देशक अजित बरालले आगामी वर्षमा पनि यस्तो महोत्सव आयोजना गर्दै जाने जानकारी दिनुभयो।

महोत्सवमा सुधीर शर्माको प्रयोगशालामाथिको अन प्रयोगशाला, साहित्यमा ग्लामर, द विनिङ ह्याबिट, तीन यायावर, इबुक्स सम्भावना र चुनौती, आर्ट अफ सर्ट स्टोरी, लेखकको दृष्टिकोणमा लेखक, टेक द लिड, शहर र समृद्धि, पढन्ते केटाकेटी, सेलिङ लभ, पोइट्री अन पोइट्री, सिमान्त आवाज, अपराध लेखन, द ल्यान्ड ह्वेर आइ फिल, जीवन्त जोडी, टकिङ लभ, राष्ट्रियताको पुनर्परिभाषा, आइ टु ह्याड लभ स्टोरी, वर्तमान कविताको अनुहार, सेलिब्रेटी राजेश हमाल, नेपाली भाषा कसको, छापा पत्रकारिताको भविष्य, पुस्तान्तर, आख्यान र गैर आख्यान, मुसायरा, द इम्पायर राइटस ब्याकलगायतका विषयमा चार चरणमा छलफल हुने भएको छ।

 

Write a Comment

थप हेडलाइनहरु

    None Found