• Friday, 17 August 2018
  • Nepal Time: 08:28 PM
  • Japan Time: 11:43 PM

कथा: गोठालो जँदा

ऋषीराम पराजुली

“ओइ, राजे आज बाख्रा कता लैजानी?” रामेले घर पछाडिको गह्रोको डिलबाट चिच्याउदै सोध्यो, करिब २० कान्लामाथिरहेको घरको आँगनको डिलमा चुठ्दै गरेको राजेले मुख खोकल्दै पानी पिच्च तल्लो गह्रामा थुक्दै भन्यो,”तल गैह्री खेततिर लैजाम न आज”। “अनि नन्देलाई पनि भन्न है” रामेले तलबाट जवाफ फर्कायो र हिजो राखेको लौरो र डण्डि खोज्न लाग्यो।

प्राकृतिक सुन्दरताको खानी भएपनि, विकासमा पछि परेको बिकट पहाडी गाउँका केटाहरूको सम्वाद हो यो। मंसिरको महिना, भर्खर स्कुलको अन्तिम परिक्षा सकेर बसेका यी ठिटाहरूको अहिलेको दैनिकी दिउसो घरमा रहेका चौपायाको गोठालो हुनु हो। स्कुल बिदा नभएको भए यिनिहरू बिहान ८ बजे त झोला बोकेर स्कुल दौडीन्थे, करिब १ घण्टाको ठाडो ऊकालो अनि करिब १ घण्टाको तेर्सो बाटो, ५ कक्षा पढ्ने यिनलाई आठै बजे निस्कन परे पनि ९-१० कक्षामा पढ्ने चाहिं ९ बजे निस्किए पनि पुग्थे किनकि उनीहरू स्कुलमा बिहानको प्रार्थना छुटाउन डराउदैनथे अनि छिटो पनि हिड्थे।

उता नन्दे भर्खर खाना खाँदै थियो, राजेले उसलाई घरमै गएर भन्यो “नन्दे, आज बाख्रा तल खेततिर लैजानी है, रामेले फुकाइसक्यो”, भित्रबाट नन्देको आमा बोलीन “आज नन्दे गोठालो जादैन, मामाघर जान्छ अब”। राजेले “ए लौ त्यसो भए म गएँ ” भन्दै बाटो ततायो र उफ्रिदै बाख्राको टाँडतिर गयो, उसका आफ्ना गोठालो जादा लैजाने सबै सरजाम ठिक पार्यो र बाख्रा फुकाएर धपाउँदै तल खेततिर लाग्यो।

अलि तल दोबाटोको चौरमा रामे पर्खिरहेको थियो राजे र नन्देलाई, उसका बाख्रा अघिनै आफ्नो बाटो समातिसकेका थिए। रामेले नन्देलाई नदेखेपछि सोध्यो “अनि नन्दे खोइ त?”,”मामाघर जान्छ रे आज” राजेले उत्तर दियो,”ए” रामे बोल्यो।

रामे र राजेका गाउँमा अरु पनि साथी नभएका चाहिँ होइनन, उनीहरू जन्मेको वर्ष त गाउमा प्रत्येक महिना बच्चा जन्मिएका थिए त्यसैले उनका दौतरी त धेरै नै थिए तर स्कुलमा एउटै कक्षामा पढ्ने रामे र राजे अनि १ कक्षा पछिरहेको नन्दे चाहिं मिल्ने साथी, उनीहरूका गोरु हेर्ने मान्छे घरकै दाइ, दिदीहरू हुने, त्यसैले बाख्रा मात्रै चराउन लैजाने, उनीहरू टाढासम्म जान सक्थे, उनीहरूको घर पनि गाउँको तल्लो भेगमा पर्ने र सबै खेतबारीहरू पनिसँगै जस्तो हुनाले यी दौंतरी अलि बढी नजिक थिए।

“आज कहांसम्म पुग्ने त?” राजेले सोध्यो,”आज त्यो तल गैह्रीसम्म जाम” रामेले भन्यो। “ल हुन्छ” भन्दै तल भिरमा चरिरहेका बाख्रालाई धपाउदै खेत को छेउमा लगेर छोडे। त्यहाँबाट गैह्री तलै थियो, करिब आधा घण्टाको बाटो, अब उनीहरू बाख्रालाई त्यहीँ छोडेर डण्डीबियो खेल्दै तल जान लागे।

“ओइ राजे, ऊ त्यो गह्रो नाघ्न सक्छस?” रामेले ढाडसिलो लवजमा भन्यो,”ह्या यति जाबो, हिजो नाघ्या जत्रै त छ नि” भन्दै जाँघे माथि सारेर हामफालिहाल्यो। “तँ सक्छस?” उसले अब तीर फर्कायो रामे तिर, ऊ पनि के कम र कस्सिहाल्यो, कुनाबाट दगुर्दै आएर फाल हाल्यो, राजे झस्कियो अनि भन्यो “ओहो झण्डै मर्या थिस, थोरैले त्यो डिलमा छोएनस्”। “जे भएनि नाघें नि” रामेले सामान्य रुपमै जवाफ फर्कायो र भन्यो “ल अब अहिलेलाई नाघ्ने काम नगरम, जाम एकछिन डण्डीबियो खेलम्” अनि राजे कस्सियो र भन्यो “उ त्यो त्यो गैहृको ठुलो गह्राँ जाम।”

दुवै पुगे ठुलो गह्रोमा, पहिलेनै होल्ने ठाऊँ र कोठा तयार थियो, शुरु गर्नु अघि रामेले हिजोको “पुरानो कोदो” सम्झायो याने कि हिजो उसले जितेको, र भन्यो “तँलाई मैले २ मुरी ला’छु नि हिजो”, राजेले भन्यो “२ मुरी हैन, १ मुरि उठुरी मात्रै हो”, उसले १ लौरी घटाईहाल्यो तैपनि रामेले भन्यो “ल ल मुला हिजोकैबाट शुरु गर्ने”,”ल हुन्छ म होल्छु पहिले” भनेर राजेले शुरु गरिहाल्यो। राजेको डण्डि कोठैमा पर्यो तर लौरोले हान्दा ऊफ्रिने जस्तो भएन, उसले प्रयास गर्यो तर बिफल भयो। पालो रामेको, उसको भाग्य, डण्डी यति मिलेर बसिदियो कि, उसले निकै टाढा पुर्याइदियो। “ओइ दे कति दिन्छस” रामेले राजेलाई भन्यो,”२ मुरी १०” राजेले भन्यो, रामेको चित्त बुझेन “उ ह्वाँ पुग्याछ ३ मुरि त पक्कै छ” रामे असन्तुष्टि पोख्दै भन्यो “नापम्?”,”नाप्न त”, राजे पनि पछि हट्ने मुडमा भएन ऊ यसै हारिरहेको बेला। रामे नाप्न थाल्यो कहिलेकाहीं लौरो उचालेर नाप्न लाग्यो बने राजे कराईहाल्थ्यो “ओइ झेल नगर है, राम्रोसँग नाप् त्याँ”। “कहाँ झेल गर्या छु? हेर राम्रो संग” रामे बोल्दै नाप्दै भन्यो २ मुरि १८।

राजेलाई पिर पर्यो अब ऊ हिजोको समेत जोड्दा ४ मुरि १७लेपछि परिसक्यो। राजे पनि डण्डी बियोमा कमजोर त होइन तर उसको लक नलागेको आज, २-३ पालीपछि उसको पनि लक लाग्यो र उसले खेल बराबरिमै ल्याइदियो। करिब २ घण्टा डण्डिबियो खेलेपछि आजलाई पुग्यो भन्दै दुवै पानी खान खोल्सामा गए अनि सानो डुबिल्कोमा बारिएको मुलकोपानी अंजुलिले उबाएर खाइ, फर्केर खेतको छेउको ढुंगोमा बसे।

दिउसो को ३ बजिसकेको छ, बिहान माथि छोडेका बाख्रा पनि तलै आइसके, घाम पनि ओझाउन थालिसक्यो, तर रामे र राजेमा अँझै जाँगर मरेको छैन तर के गर्ने भनेर सोच्दै छन, यत्तिकैमा राजेले रामेलाई तल खोलातिर देखाउदै भन्यो ” ऊ त्याँ पानी बारेर खेलम ” उनीहरू बेला बेला सानो खोल्सीमा पानी बारेर कहिले कागजकै त कहिले पातको डुंगा बनाएर पनि खेल्ने गर्थे। ” जाम हिड्, त्याँ तल त पानी अमला पनि पाइन्छ, खाम्ला” रामेले जाने संकेत गर्यो।

दुवै पुगे तल, पानी अमला खोज्दै खाए यत्तिकैमा राजेको आँखा पारि भित्मा सुकेको खरिमाथि पुग्यो अनि भन्यो “त्यहाँ त कस्तो गजबको सुकेको खरिरहेछ, डढेलो लाइदिम्”, पारि पारि पाखाका बनहरू गर्मी याममा डढेलोले ह्वारर्ह्वार्ति बलिरहंदा उनीहरूलाई रमाइलो लाग्थ्यो, बेलुकीपख देखिने आगोका लप्काहरू कता छिटो जाला भनेर गमिरहन्थे। यसको असरसँग ऊनिहरूलाई केही मतलब थिएन।

रामेले पनि सहमति दिईहाल्यो, सलाई त राजेको गोठालो जाँदा बोक्ने नित्य सामाग्री नै थियो त्यसैले उसले सलाई निकाल्यो र झोसिहाल्यो। सुकेको खरि पटटटट गर्दै बल्यो दुवै मज्जाले रमाए, पारि पाखामा देखेको जत्रो ठुलो नभएपनि त्यस्तै लाग्ने डढेलो आफैले लगाएकोमा। तिनको खुशि एकाएक डरमा परिणत भयो र आत्तिए जब भिरको टुप्पोमा रहेको कुरुवा छाप्रोको छानोमा आगो बल्न थाल्यो। खेतमा बाँदरले साथै दुम्सिले अत्याउने हुनाले गाउकै एकजना पाका “जीवा”ले त्यहाँ कुरुवा छाप्रो बनाएका थिए, त्यो अनकण्टार लाग्ने ठाउँमा जीवाले कयौं रातहरू बिताउने गरेका थिए, जुन अहिले बलिरहेको थियो। दुवै आत्तिदै, हस्याङ फस्याङ गर्दै माथि दौडे यत्तिकैमा केही माथिबाट अरु गोठालाले पनि थाहा पाएर कराउदै थिए। माथि पुगेर हरियो स्याउला अनि माटाका डल्लाले हानेर आगो त निभाए तरसँगै त्यो छाप्रोको खाँबा बाहेक अरु सबै भत्कियो।

अघिसम्म रमाइरहेको बालापन एकाएक हरायो, वरिपरि सन्नाटा छायो, सबैतिर कालो भएजस्तो लाग्यो, माथि कतै कोही बोल्दा पनि आफैलाई कसैले “पख म भन्दिन्छु तिमीहरूले जलाको” भनेर भने जस्तो लाग्न थाल्यो। दुवै एकअर्कामा हेराहेर गर्दै बसे, दुवैको चन्चले मुख अहिले खुल्न सकेको छैन, यत्तिकैमा बिस्तारै “जाम अब जे होला” भन्दै दुवै हिंडे। साँझ पर्न लागिसकेकोले दुवैले आफ्ना बाख्राहरू धपाउदै घर आए र खोरमा हुले। सधैं बेलुकी खेल्न जम्मा हुने साथीहरू बिच आज उनीहरू जान सकेनन्, गाउमा गाँइगुइँ हल्ला चल्यो आज रामे र राजेले जीवाको गोठ जलाए अरे।

धन्न रामेका घरमा चाहिं त्यो हल्ला आइपुगेको रहेनछ, त्यसैले आजकोलागि गाली खानबाट बच्यो, बेलुकी खाना खाएर कसैसँग केही नबोली डराएकै मुद्रामा धन्सारको आफ्नो ओछ्यानमा पल्टिदै सोच्यो, ओहो आज साच्चै ठुलो गल्ती गरियो, अब देखि त यस्तो काम कहिल्यै गर्दिन, राजेलाई के गरे होलान? त्यसका बाउ त कडा थिए बुडाले थाहा पाएपछि सिस्नो लाइदिन पनि सक्छन। यस्तै सोच्दै आफूले भोलि खान सकिने गाली र नसिहतको डरैडरमा भुसुक्क निदायो रामे।

2 Comments on “कथा: गोठालो जँदा”

  • Sudip panta wrote on 31 May, 2014, 6:42

    Tato na chharo ko story

    [Reply]

  • rupak wrote on 27 June, 2014, 9:42

    cheuuu na tuppooooooooo ko story…hawa hawa

    [Reply]

Write a Comment

थप हेडलाइनहरु

    None Found