• Tuesday, 19 June 2018
  • Nepal Time: 12:58 AM
  • Japan Time: 04:13 AM

भरियाको गीतले चिनिएका जीवन शर्मा

जीवन शर्मा सवैले सुनेको नाम हो । उनका गीतहरु नसुन्ने नेपाली भने कमै होलान् । वि.सं.२०१७ साल भाद्र २५ गते बाग्लुङ जिल्लाको राङखानीमा जन्मिएका शर्मा गरीब दुःखीको गीत गाएर नै सवैको मनमा बस्ने सकेका हुन् । हुन त उनी गाउँको सामन्ती परिवारमा जन्मिएका हुन् । चिनामा टीकानिधि उपाध्यायका रूपमा टिपोट गरिएका शर्माको वास्तविक नाम भने रामकृष्ण आचार्य हो । समयसँग सम्झौता नभई संघर्ष गर्नुपर्ने ठान्ने जीवन शर्मा सशस्त्र हतियार त उठाएर संघर्ष गरेनन् तर गीत संगीतकै माध्यमबाट जनता जगाउँने संघर्ष चाँही गरे । त्यतिबेलाका गाउँको प्रधानपञ्च गाउँको एउटा ठूलै मुखिया ठानिन्थ्यो । तिनै गाउँ पञ्चायतका मुखियाका छोरा थिए, जीवन । गाउँको सम्पन्न परिवारमा जन्मिएर पनि दिन दुःखी गरीबहरुको पीडालाई केलाउन सिकेका गायक जीवन शर्मा जनगायक त कहलिएका छन् तर राज्यले भने अहिले सम्म पनि कदर गर्न सकेको छैन ।
Jeevan-Sharma-1
रक्तिम यात्रा
जतिबेलादेखि उनले गाउँमा सामन्तको विरोध गर्दै गरीब किसानको गीत गाउँन थाले तब उनी पञ्चायती प्रशासनका तारो बन्न थाले । साँच्चिकै गरीब दुःखी जनताको भाका निकाल्दा जतिजति प्रशासनको तारो बन्दै गए उनी उतिउति कम्युनिष्ट प्रति पे्ररित पनि भए । आफ्नै आँखा अगाडि दमन र शोषणका रूप देखेपछि जीवन गीतसंगीतकै माध्यामबाट रक्तिम यात्रा अंगाल्न थाले ।

आस्थाका पहाडहरूमा उनको आरोहण जीवनका आधा शताब्दीसम्म पनि निरन्तर छ । उनका रक्तिम यात्रा आज पनि कायमै छ । उनकै गीतले मुलुकको राजनीतिक ब्यवस्थामा परिवर्तन ल्यायो, उनकै शब्द भजाएर थुप्रै सर्वहारा वर्गको नेताहरु संभ्रान्त कहलिए त जीवन शर्माको जीवन भने अहिले पनि दयनीय छ ।

वि.सं.२०३२ सालदेखि संगीतसँग सहकार्य गर्दै आएका शर्मा २०४३ मा रक्तिम साँस्कृतिक परिवारको स्थापना गर्ने अभियानको पर्याय बने । मणि थापा र मोहन चित्रकारसँग मिलेर जीवन शर्माले त्रिचन्द्र कलेजको छेउमा घण्टाघरको मुनि २०४२ सालमा जग हालेको सांगीतिक टिमले नै २०४३ चैत्र १ गते रक्तिम परिवारको आकार ग्रहण गरेको थियो । परिवर्तनको आश मारेर वा बलिदानको बाटोबाट भविष्य नदेखेर कति साथीहरूले संगीतकै क्षेत्रमा रहेर पनि जनतासँगको सांगीतिक यात्रामा साइनो तोडे ।  तर समयका हजार चुनौतीहरूलाई स्विकार्दै जनताको पक्षमा संगीतको यात्रामा अविचलित छन् गायक जीवन शर्मा ।

सर्वहारा जीवन

गाउँको एक मुखिया कहलिएका प्रधानपञ्चको छोरो हुनुको नाताले पनि उनलाई जीवनका अपुग भन्ने कुरा सायदै हुदैनथ्यो होला, वुवाको विचारको यात्री बनेको भए । तर उनी बुवाको सिद्धान्तलाई लत्याएर सर्वहारा वर्गको मुक्तिको बाटो अँगाल्दा अँगाल्दै उनको जीवन पनि सर्वहारा नै रहिरहेको छ । सर्वहारा जीवनमा रमाएका जीवनले अन्तरजातीय विवाह गरी जीवनलाई जोडे । Jivan Sharma -2तीन दशक लामो सांस्कृतिक यात्रामा रहेका जीवनको जीवन अहिले पनि अपुग नै छ, आर्थिक दृष्टिले ।

काठमाडौको अनामनगर घट्टेकुलोमा डेरामा बस्ने जीवनको नाममा एक इञ्च जमिन छैन । जीवनभरको आफ्नो समर्पणमा सन्तुष्टी रहेका उनी राजीखुसी निम्त्याइएका दुःखहरू सामना गर्नुमा रमाइलो ठान्छन् । कागजी प्रमाणपत्रहरू नभएर जीवन शर्मा सर्वहारा हुन पुगेका भने होइनन् । दर्शन र राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले अंग्रेजी र मानवशास्त्रमा डबल एमए गरे ।

आधुनिकताबाट अलग
जीवन शर्माका गीतहरु जीवनमा सधैं नै कालजयी बनेर रहेको छ तर मात्र गरीब र भोकानाङ्गाहरुका लागि । उनीपछिका थुप्रै गायक गायिकाहरु साँइली र माइलीको गीत गाएर नै सम्पन्न भइसकेका छन् । तर उनलाई कहिल्यै पनि आधुनिक गीत संगीतले छुन सकेन । गरीब दिन दुःखीहरुको चित्र गीतबाट उतारेरै उनले चेतना भर्ने काम पनि गरे । पश्चिमा शैलीको देखासिकी गर्दै उटपट्याङ् गीत गाएर हो मा हो मिलाउनेहरुले आफ्नो ब्यक्तिगत जीवनको महल ठड्याएर पनि आफू भने सधै सर्वहारा हुनुमा पनि उनलाई कुनै पछुतो छैन ।

तीन छोरा र एक छोरीका पिता जीवन शर्माले जीवनमा दुईपटक विवाह गर्नुपर्यो । एउटा मागी विवाह त अर्को भागी विवाह । प्रथम पत्नीसित सम्बन्धविच्छेद गरेका उनको अहिले सर्वहारावर्गको चेतना जगाउँने गीतसंगीत अभियानसँगै भित्राएका दोस्री पत्नी नीलिमा र छवर्षे छोरीसहित जीवन अगाडि बढिरहेको छ ।

‘झरनाको चिसो पानी’, ‘सिमली छायाँमा बसी’ लगायत लोकप्रिय गीतका स्रष्टा जीवन शर्माका ३३ थान बढी एल्बम आइसकेका छन् । जनताको गीत गाएर जनताको जिब्रोमा झुण्डिएका जीवन शर्मा अहिले पनि आफ्नो एल्वम र पत्रिका बेचेर नै जीवन चलाएका छन् भन्दा पत्यार नलाग्ला । तर उनले अहिले पनि उनले जनताको गीत त गाइनै रहेका छन् । तर आफ्नो र परिवारको दुई छाक टार्नका लागि पत्रिका र आफूले गाएका गीत संगीतले भरिएको एल्बम बेच्न विवश छन् ।

Write a Comment

थप हेडलाइनहरु

    None Found