• Saturday, 23 September 2017
  • Nepal Time: 04:44 PM
  • Japan Time: 07:59 PM

भुवनले साँचेको सपना- ५ बर्षभित्र जापानमा नेपालीको बिजनेस साम्राज्य

Bhuwan-Adhikari१८ बर्षपहिले जापान आउँदा भुवन अधिकारी जम्मा १७ बर्षका थिए । जुँगाको रेखी पनि नबसेका भुवनले जापान आएर जापानी भाषा पढे र यहाँको संर्घषको भुङ्ग्रोमा होमिए ।

त्यतिबेला नेपालीहरुको अबस्था अहिलेजस्तो थिएन् । बैधानिकरुपमा काम गर्ने नेपालीको संख्या निकै न्यून थियो । धेरैजसो ओभरस्टे थिए, कहिले पक्राउ परेर नेपाल जानुपर्ने हो भन्ने सधै त्रासमा हुन्थे ।

भुवनले पनि जापानमा त्यही नियति भोगे जो आम नेपाली बिद्यार्थीले भोग्नुपर्छ । सुरुवाती दिनमा उनले रेष्टुँरामा भाँडा माझेर छाक टार्ने उपाय गरे । त्यतिबेला निकै चलेको ‘महाराजा’ रेष्टुँरामा उनले भाँडा माझे  ।

प्राबिधिक शिक्षा लिएपछि भुवनले सन् २००३ बाट बिजनेसमा हात हाले । सवैभन्दा पहिले उनले इन्डियन नेपाली रेष्टुँरा खोले जसको नाम थियो ‘सपना’ ।

११ बर्षे ब्यसायिक जीवनमा उनले निकै ठूलो सफलता हात पारिसकेका छन् । तर पनि उनी प्रचारप्रसार र राजनीतिमा पटक्कै रुची राख्दैनन् । लो प्रोफाइलमा बसेर बिजनेस गर्न रुचाउने भुवन हालै टोक्यो नेपालसँगको भेटमा आफ्ना सुखदुःखका कथा, सफलताको राज र जीवन दर्शनबारे बोल्न राजी भए ।

अहिले ‘सपना’ ब्राण्डमै टोक्यो महानगर क्षेत्रभित्र ६ वटा रेष्टुँरा संचालनमा छन् भने केहि शाखाहरु छिट्टै खुल्ने प्रक्रियामा छन् । उनले यस्ता ठाउँमा रेष्टुँरा चलाउने अबसर पाएका छन, जो निकै कम नेपालीले मात्र पहुँच पाउँछन् ।

‘जापान रेल्वेको लाइनमा म पहिलोपटक प्रवेश गरेको हुँ’, भुवनले भने-मैले घमण्ड  गरेको होइन बास्तबिकता भन्दै छु कि ‘मोरी बिल्डिङमा पनि अरु कोही नेपाली प्रवेश गर्न सकेका छैनन अहिलेसम्म ।’ ६-७ बर्षदेखि उनले यस्ता ठाउँमा ब्यापार गरिरहेका छन जहाँ प्रवेश पाउन नेपालीलाई मुस्किल पर्छ । त्यहाँ उनले ठूलो आकारको लगानी गरेका छन् ।

‘मेरो रेष्टुँरामा ५ करोडदेखि १५ करोड रुपैयाँसम्म लगानी भएको छ’ अधिकारी भन्छन- सवै रेष्टुँरामा गरेर ६० करोडभन्दा माथि लगानी भइसक्यो ।’

अहिले जापानभरि करिव तीन हजार को संख्यामा नेपाली रेष्टुँरा होलान जहाँ जापानी ग्राहकलाई भारतीय र नेपाली डिसको स्वाद पस्किइन्छ ।

भुवनका रेष्टुँरामा भने भारतीय र नेपाली को साथै थाई परिकार समेत पाक्छन् । ‘मेरा सवै रेष्टुँरामा दुईटा किचन छन’ भुवन भन्छन्- दुइटा डिसका कारण ब्यापार पनि अरुको भन्दा राम्रो छ ।’

नेपाली चलाएका टोक्योका रेष्टुँरामध्ये आफ्नो सवैभन्दा धेरै ब्यापार हुनेको एक नम्बरमा रहेको भुवन ढुक्क संग दावी गर्छन् ।

‘अन्य रेष्टुँरामा धेरैमा महिनाको ४०-५० लाखको ब्यापार हुन्छ होला’ भुवन आफ्नो ब्यापारको आकार खुलाउँदै भन्छन- मेरा सवैजसो रेष्टुँरामा महिनामा एक करोड सम्मको सेल्स छ ।’यद्यपि ब्यापार हो, उतार चढावलाइ सामान्य रुपमा लिन सक्नु पर्छ

उनका ६ वटा रेष्टुँरमा अहिले ५० जनाजति नेपालीले रोजगारी पाएका छन् । जापानी र थाई स्टाफ गरि करिव ६० जनाले आफ्नोमा रोजगारी पाएको भुवनले सुनाए ।

थाई कुक महंगा हुने भएकाले आफुले नेपाली कुकलाई नै थाई परिकार बनाउन सिकाएर रोजागारी दिएको उनले बताए । ‘गरीव परिवारका मान्छेमात्र ल्याउँछु, धनीलाई ल्याउन्न, मकहाँ काम गर्नेगरि जापान आउने पहिलो सर्त गरिव र खान लाउन धौधौ पर्ने हुनुपर्छ’ आफ्नो समाजसेवी पाटो खोतल्दै उनले भने ।

‘स्टाफलाई सन्तुष्ट र खुसी राख्न सक्नु नै मेरो सफलताको आधार हो’ उनले भने- ‘मकहाँ काम गरेका अधिकांसले काठमाण्डौमा घर बनाएका छन, मोफसल मै भए पनि सुखी र खुशी साथ परिवारलाइ राखेका छन् ! सम्पन्न जिन्दगी बिताएका छन् ।’

स्टाफलाई खुसी राख्न उनी हरेक दुई बर्षमा तीन महिनाको बिदा दिएर उनीहरुलाई नेपाल पठाउँछन र आतेजाने टिकट पनि दिन्छन् ।
‘मैले ल्याएका मानिसले अहिलेसम्म मेरो साथ छाडेका छैनन’ सन्तोष मान्दै भने-‘उनीहरुका बाबुआमाले आसिक दिन्छन, माया गर्छन, मेरो जीवन धन्य भएको महसुस गर्छु ।’

Bhuwan-Adhikari-2धेरै हैन, दिगो
जापानमा नेपालीहरुको रेष्टुँरा साम्राज्य निकै फैलदो छ । दशौं, बिसौं रेष्टुँराको चेन बनाउने नेपालीहरुको संख्या पनि धेरै भइसक्यो ।
तर, भुवन अधिकारी भने ११ बर्षमा ६ वटा रेष्टुँरामा चित्त बुझाइरहेका छन् । भन्छन-‘मलाई संख्या मात्र धेरै बनाउनु छैन, दिगो बनाउनु छ ।’

जापानीलाई पार्टनर राख्न मानेको भए अहिलेसम्म ५०-६० रेष्टुँरा भइसक्थे भन्दै भुवनले भने-‘आफ्नो खल्तीको पैसा हालेर आफुले सक्ने मात्र ब्यापार गरिरहेको छु, त्यसैले संख्याको होडबाजीमा छैन् ।’

लगानी गरेकै अनुपातमा ब्यापार हुने भन्दै उनले भने-‘ मैले सानो लगानी गर्न खोजिन, एउटै रेष्टुँरामा करोडौं लगानी गर्दा र राम्रो ठाउँमा गर्न खोज्दा धेरैवटा बनाउन सकिन्न ।’

पछिल्लो समय रियलस्टेट बिजनेसमा पनि लागेका भुवनले रेष्टुँरामा भन्दा रियलस्टेटमा लगानी सुरक्षित देखिरहेका छन् । ‘यो बुढेसकालमा पनि बसेर खान पाइने बिजनेस हो, त्यसैले रियलस्टेटमा मेरो समय र पैसा दुवै लगानी बढिरहेकेा छ’- उनले भने ।

पाँच बर्षमा नेपाली साम्राज्य
अन्य मुलुकमा भन्दा जापानमा नेपालीहरुले निकै प्रगति गरेको भन्दै उनी खुसी ब्यक्त गर्छन् । आफैसँग काम गरेका अन्य साथीहरु र नयाँ पुस्ताको प्रगतिबाट पनि उनी निकै हौसिएका छन् ।

‘हिजो हामीले जसकहाँ भाँडा माझ्यौं, अहिले हामीले उनीहरुकै रेष्टुँरा किनिरहेका छौं, उनीहरुकै ड्राइभरलाई हामीले जागिर दिएका छौं’ भुवनले भने । आफ्ना दौंतरी भवन भट्टले गतसाल  महाराजा रेष्टुँरा किनेको प्रसङ्ग कोट्याउँदै उनले भने- भवन र मैले हिजो त्यही रेष्टुँरामा भाँडा माझेका थियौं ।’

अहिले जापानमा कुनै भारतीयले रेष्टुँरा बेच्न खोज्यो भने त्यो किन्ने पहिलो ब्यक्ति नेपाली नै हुने गरेको उनले सुनाए । केही महत्वपूर्ण स्थानमा रहेका सिमित भारतीयका रेष्टुँरा किन्न आफुले पनि कोसिस गरेको उनले सुनाए ।

आज धेरै साथीहरुले रेष्टुँरा क्षेत्रमा आ-आफ्नो साम्राज्य बनाइसक्नुभएको छ’ उनले भने- नयाँ पुस्ता झन तेजिलो छ, अबको पाँच बर्षमा जापानमा नेपालीको साम्राज्य स्थापित हुन्छ, सयौं सफलताका कथा भेटिन्छन् ।

नेपालीहरु मेहेनति भएकाले पहिले भारतीय र पाकिस्तानीले ओगटेको बिजनेस साम्राज्य नेपालीले कब्जा गर्न थालेको उनको बुझाई छ ।

‘अहिले नेपालीहरु यसरी राइज भइरहेका छन, त्यो हाम्रो गौरव हो । पहिले भारतीयहरुले हामीलाई तेरो जुत्ता गन्हाउँछ पछाडी बस भन्थे, अहिले उनीहरुले भन्दा हामीले राम्रो गाडी चढ्छौं, उनीहरु टाट उल्टिएपछि नेपाली ड्राइभरलाई हामीले काम दिएका छौं ।’ उनले भने ।

क्याराभान सपना कम्पनी मार्फत् नेपालको मुस्ताङ बियर जापानका रेष्टुँरासम्म पुर्‍याइरहेका भुवनले जापानभित्र नेपाली बियरको निकै ठूलो सम्भावना देख्छन् ।

महिनामा झण्डै २ हजार २ सय केस बियर बजारमा पठाउँदै आएका भुवनले ठूला चेन स्टोरहरुमा छिर्ने कोसिस गरिरहेका छन् । ‘सेभेन इलाभेन जस्ता कम्बिनी  स्टोरमा छिर्न पाइयो भने एउटाबाट दिनमा एक बोतल बेचेपनि एकै दिन ११ सय बोतल बियर बेच्न सकिन्छ’ उनले अनन्त सम्भावना औल्याए ।

तर, राजनीति र ब्यापार सँगसँगै हुन्न
जापानी समाजमा कसरी सफलता हाँसिल गर्ने ? भुवन अधिकारीको आफ्नै जीवन दर्शन छ । नयाँ पुस्तामा निकै राम्रो सम्भावना देखे पनि राजनीति र आफ्नो करियरलाई ब्यालेन्स गर्न नसकेको उनको बुझाई छ ।

‘ब्यापार र राजनीति एकैचोटी हुँदैन, पहिले आफु स्पष्ट हुनुपर्छ राजनीति गर्ने कि ब्यापार ?’ उनले नयाँ पुस्तालाई सुझाव दिए- राजनीति गर्नेले राजनीति गर्ने ब्यापार गर्नेले राजनीति गर्नेलाई आर्थिकरुपमा सघाउने हो ।’

‘नेपालीहरु राजनीति गर्ने धेरै भए, जसले राजनीति नगरी ब्यापारमा समय दिन्छन उनले धेरै प्रगति गर्छन् । मेरा कतिपय साथीहरु छन जो हिजो राम्रो रेष्टुँरा चलाउँथे, अहिले बन्द गरेर जागिर गर्छन ।’ उनले तितो अनुभव सुनाए ।

उनको सुझाव छ-‘बरु हामीले राजनीति गर्ने साथीहरुलाई सहयोग गरौं, उहाँको त्यो करियर बन्छ, उहाँलाई हामी आर्थिकरुपले सहयोग गरौं, भोली हामीलाई पनि काम लाग्छ । तर, ब्यापार पनि, राजनीति पनि गर्ने कामले कहिँ पुर्‍याउँदैन् ।’

उनी भन्छन-त्यसैले म राजनीतिमा लाग्दिन, मलाई एनआरएनको नेतृत्त्वमा जानु पनि छैन् । मलाई केवल ब्यापार गर्नु छ, त्यही नै मेरो काम हो ।’बचे खुचेको समयमा समाज सेवा गर्छु !

आफ्नो ब्यापार स्थापित भएपछि, सिस्टमले चल्ने भएपछि उनी बुढेसकाल नेपालमै गएर बिताउने योजनामा छन् । जापानी नागरिकसँग बिबाह बन्धनमा बाँधिएका भुवनका ठूलो छोरा १६ बर्षका भइसके ।

‘६० बर्षसम्म जापानमै ब्यापार गर्ने हो, यहीँ सन्सार छ । ६० बर्षपछि नेपाल नै जाने हो । अहिलेलाई जापान मै बस्छु ।’ उनले बुढेसकालको योजना सुनाए-‘भोली अरुले पनि चलाउन सक्छन् । त्यो संरचना बनाएपछि नेपाल बसेरै पनि जापानमा कम्पनी चलाउन सक्छु ।’

प्रस्तुतीः प्रकाश पाैडेल माइला

One Comment on “भुवनले साँचेको सपना- ५ बर्षभित्र जापानमा नेपालीको बिजनेस साम्राज्य”

  • prem bdr mgr wrote on 13 February, 2015, 10:18

    bhuwan ji le gareko kam sunda pani kati khusi lagyo.bhuwan ji le jhai aru nepalile pani pragati garna sakun vanne mero kamana x.

    [Reply]

Write a Comment

थप हेडलाइनहरु

    None Found