• Tuesday, 19 June 2018
  • Nepal Time: 12:58 AM
  • Japan Time: 04:13 AM

‘खलंगामा हमला’लाई मदन पुरस्कार

khalanga ma hamala-Book Cover१५ सेप्टेम्बर, काठमाडौ । राधा पौडेलको संस्मरण कृति ‘खलंगामा हमला’ ले ०७० को मदन पुरस्कार प्राप्त गरेको छ । मदन पुरस्कार गुठीको साधारणसभाले  ‘खलंगामा हमला’ पुस्तकका लागि दुई लाख राशिको पुरस्कार पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो ।

‘पुरस्कार प्राप्त गर्दा आफूलाई एकदमै खुसी लागेको र त्योभन्दा पनि बढी गौरव लागेको पौडेलले बताइन् । पुस्तक लेख्दा शान्ति प्रक्रियामा योगदान गर्नुपर्छ भन्ने सोचका साथ अन्यायमा परेकाले न्याय पाउनुपर्छ भन्ने ध्येय राखेर लेखेको उनले बताइन् ।

पुरस्कार प्राप्त गरेको खबर सुन्नासाथ आफूले जुम्ला र जुम्लाका साथीभाइलाई सम्झेको राधाले बताइन् । ‘मैले सबैभन्दा पहिले जुम्लालाई सम्झिएँ । युद्धकालमा जुम्लाको टुँडिखेलमा देखेका लास सम्झिएँ । जसले मलाई किताब नलेखिरहनै नसक्ने बनायो । त्यसपछि मैले मेरा बुबाआमालाई सम्झिएँ,’ उनले भनिन् ।

राधा जुम्लामा ‘बेयर फुट डक्टर’का रूपमा कार्यरत रहेका वेला तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम खलंगा आक्रमण गरेको थियो ।

२८ कात्तिक ०५९ मा भएको सो हमला उनले प्रत्यक्ष देखेकी थिइन् । त्यसको संस्मरणका साथै जुम्लाका जनताले द्वन्द्वका क्रममा भोगेका त्रासदीलाई उनले पुस्तकमा उतारेकी छिन् ।

चितवनकी स्थायी बासिन्दा राधाले भनिन्, ‘मैले पुरस्कारको अपेक्षा गरेर लेखेकी थिइनँ । त्यो वेला भोगेको त्रासदी र देखेको दृश्यले भित्री मनमै चोट पर्‍यो । त्यसैले लेखेँ । पुरस्कार पाउँदा त्यस्तो चोट प्रतिनिधि घटना रहेछ भन्ने लागेको छ ।’ भरतपुर अस्पतालमा एनेस्थेसियोलोजिस्टका रूपमा नियुक्त भए पनि चुनौती मोलेर पौडेल जुम्लामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ जुम्ला पुगेकी थिइन् ।

राधाले पुस्तकको बिक्रीबाट प्राप्त रकम जुम्लामा शान्तिवाटिका निर्माणमा खर्च गर्दै आएकी छिन् । ‘मैले ०५९ मा पुस्तक लेख्दै शान्तिवाटिका बनाउँछु भन्ने कल्पना गरेकी थिएँ । त्यस योजनामा पहिलो पैसा मेरै पुस्तकको थियो । जसका लागि मेरा बुबा, भाइ, बहिनीले समेत पुस्तक किन्नुभएको थियो,’ उनले सम्झिन् । शान्तिवाटिकालाई अन्तर्राष्टिय शान्ति र प्रेमको केन्द्र बनाउने उनको सपना छ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found