• Tuesday, 19 June 2018
  • Nepal Time: 12:55 AM
  • Japan Time: 04:10 AM

यौन शिक्षालाई आत्मसात गर्नुपर्छः विनिता बराल

चलचित्र ‘चपली हाइट’ सफल भएपनि अन्य प्रोजेक्टमा अफलता हात परेपछि नायिका बिनिता बराल अहिले अर्गानिक फर्म संचालनमा व्यस्त छिन् । उनी हाल ‘उमंग’ नामक चलचित्रको छायांकनमा पनि व्यस्त छिन् । उनी अधिकांश समय सामाखुशीस्थित आफ्नै अर्गानिक तरकारी विक्री केन्द्रमा हुन्छिन् ।

binita-baralनायिकाहरुलाई नङ्ग्याउन थालेपछि, ग्ल्यामर क्षेत्रबाट नै पलायन हुनु भयो भनिन्छ नी ?

म ग्ल्यामर क्षेत्रबाट पलायन भएर भागेकी होइन । मैले केही समयको लागि यस क्षेत्रबाट ब्रेक लिएकी मात्र हुँ । म अहिले चलचित्र ‘उमंग’मा ब्यस्त छु ।

ग्ल्यामर भन्दै उच्छृङ्खल रुपमा आफुलाई प्रस्तुत गरिन थालेका केही नायिकाहरुलाई दर्शकले नरुचाउँन थालेको समयमा नै तपाई हराउनुलाई कसरी लिने ?

ग्ल्यामरलाई दर्शकहरुले नरुचाएको र मन नपराएको भन्ने कुरामा सत्यता छ जस्तो मलाई लाग्दैन । यसको माग हिजो थियो र आज पनि यसप्रति दर्शकको रुचि घटेको छैन बरु बढ्दो रुपमा छ । हेर्दै जानुहोस् यसको क्रेज भोलीको समयमा झनै बढ्नेछ ।

चलचित्र चपली हाईटमा तपाईले प्रस्तुत गर्नु भएको दृष्यका कारण तपाई अत्यधिक विवादमा रहनु भयो । तपाईलाई त्यस्तो कुनै पश्चाताप छ कि छैन ?

‘चपली हाईट’ले धेरै चर्चा पाउनुका साथै व्यवसायिका रुपमा समेत निकै सफल रह्यो । श्रृजना जती राम्रो बन्ने गर्दछ, त्यसको आचोचना पनि तीब्र र कडा रुपमा नै हुने गर्दछ । यस चलचित्रलाई प्रेम प्रसंग र त्यसमा प्रयोग भएको दृष्यहरुसँग मात्र केन्द्रित भएर आलोचना गरेको देखिन्छ ।

तर समिक्षक तथा आलोचकहरुले यो चलचित्र यौन मनोविज्ञानमा आधारित थियो भन्ने पूर्ण रुपमा विर्सिएर एकतर्फी मात्र पक्षपोषण गरिएको देखिन्छ । कुन वर्गिकरणको चलचित्र हो र चलचित्रले वास्तविक रुपमा केलाई देखाउन खोजेको छ भन्ने बुझ्ने प्रयास समेत नगर्नु आलोचकहरुको कमजोरी थियो ।  मैले जे गरें, दर्शकको चाहना अनुसार गरे । यसमा मलाई कुनै आपत्ती र पश्चताप छैन ।

यस अर्थमा यौन क्रियाकलापलाई खुला रुपमा आत्मसात गर्न सक्नु पर्दछ भन्ने तपाईको मान्यता हो ?

यौन क्रियाकलापलाई होइन यौन शिक्षालाई भने आत्मसात गर्नुपर्दछ । नेपाली चलचित्रहरु पनि यौन चेतनामूलक र सन्देशात्मक बन्नु पर्दछ भन्ने मेरो मान्यता छ । चलचित्र निर्माण भएपछि त्यसलाई उमेर अनुसारको वर्गिकृत प्रमाणपत्र प्रदान गरिएको हुन्छ ।

यसका लागि हामी कलाकार होइन नियमन निकायहरु सक्रिय रहनु पर्दछ । आफ्नो कमजोरी र लाचारपनको जिम्मेवारी नलिने सम्बन्धित निकायहरुको प्रवृत्ती रहेकाले पनि अधिकांश महिला कलाकारहरुले यो आरोपको निरन्तर सामना गर्नु परिरहेको छ । वास्तवमा यस्ता मनमा रहेका कुण्ठाहरुको विषयमा प्रस्तुत चलचित्रहरुले समाजलाई विकृती तर्फ होइन ब्यवस्थित र सभ्य तर्फ लैजान सहयोग पुग्दछ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found