• Friday, 17 August 2018
  • Nepal Time: 08:28 PM
  • Japan Time: 11:43 PM

मलाई व्रतमा विश्वास छैनः गरिमा पन्त

पाैष शुक्ल पूर्णिमादखि स्वस्थानी ब्रत प्रारम्भ भएको छ । नायिका गरिमा पन्तलाई अहिले स्वस्थानी लागेको छ । उनले घरमै स्वस्थानी सुन्ने गरेकी छिन् । आमा, भाउजूहरूसँग बच्चैदेखि स्वस्थानी सुन्दै आए पनि व्रत भने बस्ने गरेकी छैनन् । कहिलेकाहीँ स्वस्थानी पाठ गर्ने गरेको बताउने गरिमालाई व्रत बसेर फल पाइनेमा भने विश्वास लाग्दैन रे । जीवनमै पहिलोपटक गत तिजमा व्रत बसेकी उनलाई मनमा शान्तिचाहिँ मिल्यो रे । आफू धार्मिक प्रवृत्तिकी भए पनि अति धार्मिकचाहिँ नभएको उनी बताउँछिन् । संक्षिप्त कुराकानी:

garima-pantतपाईं आस्तिक कि नास्तिक ?
म भगवान् मान्छु । तर, पूरा अन्धभक्तिचाहिँ गर्दिनँ । कर्म गर्नुपर्छ, कर्मको शुभ फल अवश्य पाइन्छ भन्ने मलाई लाग्छ । कर्म नगर्ने, सबै कुरा भगवान्मा छोड्ने, त्योचाहिँ ठीक होइन ।

कुन धर्म मान्नुहुन्छ ?
म पूर्ण हिन्दू हुँ । हिन्दू संस्कारमा जन्मी, हुर्किएकीले यसमै विश्वास छ । हिन्दू रीतिरिवाज, चालचलन, चाडपर्व तथा परम्पराबारे राम्रै ज्ञान छ । एउटा मानुष्य हुनुका नाताले मेरो सबै धर्मप्रति उत्तिकै आदर र सम्मान छ । जुन धर्ममा हुर्किएँ, बढें, बाँचुन्जेल त्यहीँ रहनेछु ।

मन्दिर कत्तिको जानुहुन्छ ?
म मन्दिर धाएर धर्म कमाइन्छ भन्ने कुरा मान्दिनँ । त्यसैले त्यत्ति साह्रो मन्दिर जाने गरेकी छैन । तर, मलाई भगवान् गणेशप्रति भने अलि धेरै नै आस्था छ । गणेश मन्दिर भने गइरहन्छु । लड्डु, पेडा चढाउने गरेकी छु । तर, घन्टौँ लाइन लागेर भने पूजा गर्दिनँ । लाइनमा बस्दा छटपटी हुन्छ । त्यसरी छटपटिँदै पूजा गरेर शान्ति मिल्छ भन्ने लाग्दैन । मनको शान्तिका लागि बाहिरबाटै पूजा गर्ने गरेकी छु । अरू वेलामा भन्दा चाडपर्वमा भने परिवारका साथ धेरै मन्दिर गइन्छ ।

मन्दिरमा पैसा चढाउनुहुन्छ ?
आस्था र विश्वासका कारण चढाउने गरेकी छु । बढीमा ५० रुपैयाँसम्म चढाउँछु ।

व्रत पनि बस्नुहुन्छ कि ?
मलाई व्रतमा विश्वास छैन । अन्नपानीको शरीरलाई अन्नपानीविनै भोको राख्नु ठीक होइन । तर, म जीवनमै पहलोपटक तिजमा व्रत बसेँ । त्यो पनि भाउजू, बहिनीहरूको लहै–लहैमा लागेर । तर, निराहारचाहिँ बसिनँ । भोक लागिहाल्यो । त्यसैले फलफूल खाएँ । व्रत बस्दा मन शान्तचाहिँ हुँदो रहेछ । त्यो कुराचाहिँ मैले महसुस गरेँ ।

भगवान्सँग के माग्ने गर्नुभएको छ ?
भगवान्लाई सबै कुरा थाहा छ । त्यसैले केही माग्दिनँ । तर, हो म जहिले पनि भगवान् रक्षा गर्नुस्, सदबुद्धि दिनुस्चाहिँ भनिरहन्छु ।

कतिवेला भगवान् पुकार्ने गर्नुहुन्छ ?
हुन त मान्छे स्वार्थी हुन्छ । अधिकांशले आफूलाई दु:ख, अप्ठ्यारो पर्‍यो भने मात्र भगवान् सम्झने गर्छन् । म पनि त्यस्तै हुँ । कुनै घटना, नराम्रोबाट बचें भने या कुनै काम बन्यो भने थ्यांक्स गड भन्ने गर्छु । कुनै परिस्थिति प्रतिकूल भइदियो भने पनि हे भगवान् भन्ने गरिन्छ ।

धार्मिक स्थल कत्तिको भ्रमण गर्नुभएको छ ?
सबै ठाउँ हेर्न, घुम्न जान त मन लाग्छ । तिर्थव्रत गर्ने भनेरै हिँडेकी भने छैन । तर, मैले नेपालका अधिकांश मठमन्दिर दर्शन गरिसकेकी छु । सुटिङका क्रममा पनि धेरै ठाउँ पुगेकीले त्यहाँका धार्मिक स्थल घुमेकी छु । लास्ट टाइम फेमिलीसहित बागलुङ कालिका गएका थियौँ । अब भने मलाई मुक्तिनाथ जाने इच्छा छ ।

सपनामा कहिल्यै भगवान् देख्नुभएको छ ?
छैन । तर, मन्दिर दर्शन गरेको, घन्टी बजाएको भने देख्ने गरेकी छु । मेरो सपना विपनामा नमिल्ने भएकाले पनि होला, सपनाको खासै हेक्का हुँदैन । कहिलेकाहीँ त मैले महिनौँसम्म पनि सपना देख्दिनँ । बिउँझिँदा कुनै सपना याद रहिराखे, देखे के हुन्छ भनेर आमालाई सोध्ने गरेकी छु ।

बिरालोले बाटो काट्दा रोकिनुहुन्छ ?
बच्चैदेखिको बिरालाले बाटो काटे नराम्रो हुन्छ भन्ने सुनेकीले पहिला–पहिला रोकिन्थेँ । अरू कोही हिँडेपछि मात्रै हिँड्थेँ । तर, पछिपछि भने यो कुराको वास्तै लाग्दैन । आफूलाई कहाँ पुग्न हतार भइरहेको हुन्छ, कहाँ पर्खिनु ? बिरालो आफ्नो सुरमा हिँड्यो त उसको के दोष ? त्यही भएर रोकिन्न । तर, बच्चैदेखि दिमागमा परेकाले केही–केही भइहाल्छ कि भनेर अलि सतर्कचाहिँ हुने गर्छु । मनमा केही भइहाल्छ कि भन्ने त्रासचाहिँ रहिरहन्छ । तर, अहिलेसम्म त्यस्तो केही अप्रिय घटना बेहोर्नुपरेको छैन ।

स्वर्ग–नर्कमा विश्वास छ ?
छैन । सुख पाए, सबैको माया पाए स्वर्ग । दु:ख, अपहेलना पाए नर्क । जे हुन्छ, सबै बाँचुन्जेल मात्र हो । मरेपछि त सक्किगो नि । मलाई अर्काे लोकको विश्वास लाग्दैन ।

के गरे धर्म कमाइन्छ होला ?
मन्दिर, मूर्ति पूजा गरेर धर्म कमाइँदैन । असहाय, अशक्त, दु:खीलाई सहयोग गरेर उनीहरूको आत्मा खुसी पार्न सके त्यही नै धर्म हो । त्यसैले म अचेल समाजसेवामा पनि सक्रिय छु नि । भनिन्छ नि, मानवसेवा नै धर्म हो । मलाई यो कुरा सही लाग्छ ।

(नयाँपत्रिकाबाट)

Write a Comment

थप हेडलाइनहरु

    None Found