• Friday, 24 November 2017
  • Nepal Time: 11:18 AM
  • Japan Time: 02:33 PM

महाभूकम्प पछिको शान्ति


namrata 1
 हामीले धेरै संघर्ष गरेका छौं , धेरै आवाज उठाएका छौं यो प्रमाणित गर्न कि हाम्रो देश बुद्ध जन्मेको देश हो | हाम्रो देश शान्ति भूमी हो | हाम्रो देश वीर गोर्खालीको देश हो | हामीलाई अरु देशका मानिसले बुद्ध हाम्रो देशमा जन्मेका हुन् भन्दा असाध्यै पिडा हुने गर्दछ | आज वास्तवमै त्यो घडी आएको छ बुद्ध भूमी ,शान्ति भूमीको उदाहरण दिने | बुद्धका चेला हामी हाम्रो मनलाई महाभूकम्प पछि पनि आफैले आफैलाई शान्ति दिने दिन आएको छ |

प्रकृतिको नियमसंग हाम्रो के लाग्थ्यो र ,महाभूकम्प बनेर हाम्रा घर ,परिवार ,सुख खोसेर लगेको छ | सानो सुख पाउन धेरै धक्का बेहोर्दै हात पार्यौं भनेको सुख ,सम्पत्ति १ मिनेटको बिचमा चुडेर लगिदिएको छ | भुकम्पको केन्द्र कुनै स्थानमा मात्र सिमित रहेन | हरेक नेपालीको हरेक मनमा त्यसको केन्द्रबिन्दु बनेर रहेको छ | जमिनमा धक्का गैरहेसंगै हरेकको मनमा पनि अझै धक्का गैरहेको छ | आज भूकम्प पछि मात्र हामीलाई होश आइरहेछ भित्रको कम्प पनि त्यतिनै भयपूर्ण हुने रहेछ | हामीलाई थाहै नदिई बेहोसीमा ,हाम्रो मन -मस्तिस्कमा कहिले लोभ ,मोह ,क्रोध ,इर्ष्या ,हिंसा र भयका कम्पहरु गईनै राखेका पो थिए कि ? बुद्धले होश र ध्यानको कला दिएर गएको कुरा हामीले हाम्रो जीवनमा कति उतार्यौँ ? यसको सट्टा प्रेम र करुणाका कम्पहरु जान सकेको भए जीवन नै रुपान्तरण हुने थियो होला | जब जागा तब सबेरा भने झैं ,अझैं पनि बेर भएको छैन | बुद्धका अर्ति र मार्गलाई आत्मसात गर्दै प्रेम र करुणाका कम्पहरु आइनै रहुन हामीमा |
हाम्रो आत्मबलमा कमजोरीको झट्का होइन साहसको झट्का आओस | बुद्धकै मार्गलाई अनुसरण गर्ने हो भने जुन कुरा भूकम्प बिनानै बुद्धले त्याग गर्नु भएको थियो त्यो कला हामीले सिकौं | बुद्धले भन्नु भएको थियो -जीवनमा समस्या अनेक छन् तर समाधान एकमात्र छ त्यो ध्यान हो | हामी भित्र अशान्त , घर- घरमा , व्यक्ति -व्यक्तिमा अशान्त अनि अशान्तको कम्प भूकम्प भन्दा ठूलो त छैन ? त्यो अशान्त बाहिर प्रकट भैरहेको त छैन ? त्यसमा होश पुर्याउने बेला आएको छ | ध्यान मात्र एउटा साधन हो जसले शान्ति ल्याउदछ | ध्यानले मात्र हामी आफ्नो ज्योति आफैं बन्न सक्छौं – यहिनै बुद्धको ‘अप्प दीपो भव; ” को मर्म हो | हामी सजिलै अर्थ लगाउछौं ध्यान मात्र गरेर खान पुग्छ ? बुद्धले ध्यान मात्र गर भन्नु भएको छैन ,ध्यानपूर्ण भएर कर्म गर भन्नु भएको छ | आफ्नो परिश्रमले खाऊ | अरुको शरणले धेरै टिक्दैन भन्नु हुन्छ | सजिलो छैन संसारिक धक्काको महसुसलाइ त्याग गर्न ,त्यसको लागि बुद्धको ध्यानको र होशको मार्ग अवलम्बन गरौँ | जहाँ ध्यान हुन्छ त्यहाँ प्रेम र करुणा हुन्छ | जहाँ प्रेम र करुणा जाग्छ त्यहाँ भय टिक्न सक्दैन | जहाँ भयको अन्त हुन्छ त्यहाँ नै शान्त छ | आज भूकम्प पिडितको उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन पनि प्रेम , करुणा र होशको आबश्यकता छ | हुने घटना भइनै सक्यो , अब आउने दिनको ,आउने जीवनको लागि होश र ध्यानपूर्ण जीवनको परिकल्पना गरौँ | आफ्नो मुक्तिको लागि आफैं प्रयास गरौँ | आफ्नै परिश्रमले ,आफ्नै कर्मले जीवन रुपान्तरण गरौँ | हरेक रात पछि नै बिहान आउंछ त्यो सुन्दर बिहानको धैर्यताका साथ प्रतिक्षा गरौँ | सत्य लाई सत्यताकै रुपमा ग्रहण गरौँ | रात पछि बिहान नआई सुखै छैन | हाम्रो धैर्यतामा कम्प आउनु भएन ,हाम्रो साहस र उर्जा शक्तिमा कम्प आउनु भएन | भवतु सब मंगलम : सबको कल्याण होस -यो भाव जगाउनु छ | यहि नै बुद्धको उपदेश हो ,यहि नै बुद्धप्रतिको हाम्रो श्रद्दा र सम्झना हुनेछ |

डा. नम्रता पाण्डे,

(अनुसन्धानकर्ता : इबाराकी युनिभर्सिटी ,जापान )

हाल  : नेपाल

Write a Comment

थप हेडलाइनहरु