• Friday, 24 November 2017
  • Nepal Time: 04:45 AM
  • Japan Time: 08:00 AM

कोबे सहरबाट सिक्न सकिन्छ पुनर्निर्माण

एकराज पाठक

जापानको कोबे सहरमा २० वर्षअघि गएको शक्तिशाली भूकम्पपछिको पुनर्निर्माणबाट यतिखेर नेपालले पनि धेरै सिक्न सक्छ । नेपाल अहिले करिब महिना दिनअघिको शक्तिशाली भूकम्पबाट भएको विनाशको पुनर्निर्माणको चरणमा छ । बीस वर्षअघिको सो भूकम्पले भत्काएको संरचना एवम् जनधनको क्षतिबाट जापानको कोबे सहरले विकास गरेको भूकम्प प्रतिरोधी संरचना र निर्माण यतिखेर हाम्रा लागि धेरै ठूलो पाठ हुनसक्नेछ ।

सन् १९९५ जनवरी १७ मा एकाबिहानै गएको सो भूकम्पका कारण धेरैजसो नागरिक भाग्न नपाएर घर भत्किएर मरेका थिए । बिहान ५ः४६ बजे भूकम्प गएको थियो । भूकम्प ७.३ रिक्टर स्केलको थियो । यो तलमाथि र दायाँबायाँ एकैपटक आएकाले संरचना त के मानौँ कि जमिन नै फाट्ने गरी सहर हल्लाएको थियो । हुनत जापानमा भूकम्प गई नै रहन्छ । तरपनि कोबेको यस भूकम्पलाई भौतिक संरचना तथा जन धनको धेरै क्षति भएको विपत्तिका रुपमा हेेरिन्छ ।

Twilight_view_of_Kobe-1जापानको कोबे सहरलाई नै केन्द्रबिन्दु बनाएर गएको सो भूकम्प १० सेकेन्डको मात्र थियो र त्यसबाट लगभग सहरभरि आगो नै लागेको प्रत्यक्षदर्शी बताउँछन् । धेरैजसो विकासका संरचना भत्किएका थिए र स्थानीयवासी प्रायः भवन भत्किएर पुरिएका र कतिपय आगलागीमा नै परी मरेका थिए ।

अकस्मातको सो विपत्तिको उद्धार र पुनःस्थापनाको काम जापानजस्तो सम्पन्न देशका लागि पनि निकै नै गाह्रो भएको थियो । भूकम्पमा परी हजारौँ व्यक्ति मारिएका थिए भने करिब १६ हजार व्यक्ति नराम्ररी घाइते भएका थिए । लाखौँलाख व्यक्ति घरबारविहीन भएका थिए । बाटो, बिजुली, रेलमार्ग, खानेपानीजस्ता विकासका कैयौँ संरचना लगभग ध्वस्त नै भएका थिए । त्यसले गर्दा पनि विपत्तिपछिको पुनःस्थापनाको काम निकै जोखिमपूर्ण भएको अनुभव सरकारी अधिकारीको छ । भौतिक क्षति कम्तीमा पनि १० खर्ब जापानी यान बराबरको थियो । जब कि सन् २०११ म्ाा जापानमै गएको सबैभन्दा शक्तिशाली भूकम्प र सुनामीको क्षति २० खर्ब यान मात्र थियो ।

kobe-2“दश सेकेन्डमै प्रकृतिले हाम्रो सहरलाई यसरी खरानीमा बदलिदियो, म त्यो सम्झँदा अहिले पनि समय समयमा झस्किन्छु,” कोबे सहरका एकजना स्थानीय किमोउरा तोसिफुमीले भने – “त्यो १० सेकेन्डले हाम्रो सहरका छ हजार नागरिकको ज्यान मात्र लिएन विकासका संरचना लगभग सबै ध्वस्त पारिदियो । म त्यो कहालिलाग्दो घटनाको एक प्रत्यक्षदशी हुँ । मैले पनि सो विनाशबाट मेरा आफन्त गुमाउनु परेको थियो” ।

उनी भूकम्पको बारेमा जनचेतना निर्माण गर्ने काममा खटिएका एकजना स्वयंसेवी हुन् । कोबेमा राखिएको भूकम्पसम्बन्धी संग्रहालयमा उनले स्वयंसेवीको काम गर्छन् । उक्त भूकम्पले पुर्‍याएको क्षतिका केही झलक र यथार्थहरु राखेर निर्माण गरिएको १२ मिनेटको एक डकुमेन्ट्री सो सङ्ग्रहालयमा राखिएको छ । त्यहाँ जाने कुनैपनि स्वदेशी वा विदेशी व्यक्तिले उक्त यथार्थ हेर्न चाहेमा सो डकुमेन्ट्री हेर्न सक्नेछन् ।

“त्यस भूकम्पले हामी कोबेवासी र जापान सरकारलाई धेरै ठूलो पाठ सिकाएको छ । दश सेकेन्डमै मानौँ कि सारा सहर नै भग्नावशेषमा परिणत भएपछि अबका दिनमा हामीले विपद् व्यवस्थापन र त्योभन्दा पनि भूकम्प प्रतिरोधक सहर कसरी निर्माण गर्ने भन्नेबारेमा धेरै काम गरिसकेका छौँ”- कोबेमा रहेको विपद् न्यूनीकरण र मानव उद्धार तथा पुनःस्थापन केन्द्रका निर्देशक मासाहिको मुराता भन्छन् ।

निर्देशक मुराता भन्छन् – “सन् २००३ मा कोबेमा स्थापित त्यस संस्थामा अहिले कैयौँ विपद् न्यूनीकरण र व्यवस्थापनसम्बन्धी विज्ञहरू छन् । उनीहरूले जापान र विश्वमै विपद्को अनुसन्धान गर्छन् र त्यसको कारण पत्ता लगाई हानी कमगर्ने उपाय निकाल्ने प्रयत्न थाल्छन् । हामीले विशेष गरी कोबेको अकल्पनीय विपत्बाटै धेरै सिकेका छौँ र त्यसको पूर्व र विपत्तिपछिको व्यवस्थापन कोबेमा लागू नै गरेका छौँ ।”

त्यस भूकम्पसँगै सहरमा आगो कसरी लाग्यो भन्ने विषय त्यस संस्थाका लागि पनि अनुसन्धानको विषय बन्यो । भूकम्प जापानमा प्रायः आइ नै रहन्छ । सात दशमलव तीन रिक्टर त्यति शक्तिशाली पनि होइन । तर त्यति धेरै मानवीय क्षति र आधारभूत संरचना कसरी ध्वस्त हुनपुग्यो भन्नेबारेमा लामो अनुसन्धानपछि अहिले त्यो सहर नै लगभग पूरै भूकम्प प्रतिरोधक नै बनाइएको छ ।

japan_kobe_hyogo-daibutsu_nofukuji-temple_3कोबे सहरमा यतिखेर कुनै पनि व्यक्तिले घर या कुनै भवन निर्माण गर्दा आˆनो जमिनको कम्तीमा पनि सात प्रतिशत जमिन छोड्नुपर्छ । छोडिएको जमिनमा सरकारले नै भूकम्प प्रतिरोधी संरचनाको निर्माण गर्ने गर्छ । निकै साँघुरा बाटा र खाली जमिनको अभावका कारण पहिला धेरै क्षति पुगेको सरकारको निष्कर्ष छ । त्यसैले सो खाली जमिनमा सरकारले नै भूकम्पका बेलामा आश्रय लिने स्थान बनाइदिन्छ ।

नगरपालिका सरकारअन्तर्गतको कोबे इन्स्िटच्युट अफ अर्बान रिसर्चका प्रबन्ध निर्देशक योइची होन्जो भन्छन् – “सुरुमा त आˆनो जग्गा त्यसै छोड्न कस्ले चाहन्छ र ? त्यसैले जग्गाधनीले त्यो जग्गा दिन मानेनन् । तर पछि सरकारले त्यो खाली जग्गाको महत्व र त्यसमा सरकारले नै निर्माण गरिदिने संरचनाको बारेमा स्थानीय जनतासँग परामर्श गरी निर्माण गरेपछि अहिले आˆनो जग्गाको पनि प्रयोग गरिदिन व्यक्तिकै माग आउन थालेको छ ।”

त्यस भूकम्पबाट पानीका इनार भत्किएका थिए भने पाइप सबै भाँचिएका वा टुटेका थिए । त्यस्तै बिजुलीको आपुर्तिका कतिपय स्रोतमा आगो नै लागेको थियो । ग्यासका पाइपलाइन टुटेका वा त्यसैका कारण आगलागी भएकोे थियो । त्यसैले अहिले भने हामीले यी सबै संरचनालाई भूकम्प प्रतिरोधी बनाइसकेका छाँै,” होन्जो भन्छन् ।

view-over-top-of-bridge-in-kobe-japan-4यतिखेरसम्म आइपुग्दा कोबे सहरमा पानीका इनार भूकम्प प्रतिरोधी बनेका छन् । पानी वितरण गर्ने पाइप भूकम्पले नबिगार्ने गरी बनाइएको छ । बिजुली आपूर्तिको व्यवस्था दरिलो पारिएको छ भने ग्यास पाइपलाइनको वितरणको व्यवस्था पनि प्रतिरोधी निर्माण गरिएको छ । कम्तीमा १० हजार जनसङ्ख्या भएको समुदायलाई सामुदायिक स्वयम्सेवी संस्था निर्माण गर्न भनिएको छ ।

ती संस्थाले आफैँ पनि भूकम्पबारे जनचेतना फैलाउने र प्रतिरोधी संरचना निर्माण गर्ने काम गरिआएका छन् । उनीहरूलाई अहिलेदेखि नै भूकम्पपछिको उद्धारका लागि सूचना कसरी सङ्कलन गर्ने भन्नेबारेको तालिम दिइएको छ । उनीहरूले समय समयमा भूकम्पपछि कसरी उद्धार गर्ने भन्नेबारेमा आफँै पनि कार्यक्रम सञ्चालन गरिरहेका उनको भनाइ छ । हाल कोबेमा मात्र करिब २०० वटा यस्ता संस्था कार्यरत छन् ।

नगरपालिका सरकारअन्तर्गत नगर योजना परिषद् स्थापना गरिएको छ र त्यसले प्रतिरोधक योजना कार्यान्वयन गरे/नगरेको हेर्छ । नगरपालिकाका नियमको पालना नगरिएकामा ती स्वयम्सेवक संस्थाको समेत सहयोगमा नागरिकलाई परामर्श दिने गरिन्छ । त्यस्तै विद्यालय तहको पाठयक्रममा भूकम्पलगायतका विपद्को पूर्वतयारी र व्यवस्थापनका विषय समेटिएको छ । उक्त सङ्ग्रहालय ती विद्यार्थीको व्यावहारिक ज्ञान लिने स्थल पनि हो ।

कुनै पनि देशमा प्राकृतिक प्रकोपको पूर्वतयारी एवम् व्यवस्थापनको काम सरकार मात्रले सम्भव हुँदैन भन्छन् जापानी अधिकारीहरु । यसका लागि समुदायको परिचालन र समाजमा यससम्बन्धी चेतना र होसियारी सबैभन्दा महत्वपूर्ण रहेको उनीहरुको भनाइ छ । विशेषगरी भूकम्पपछिको अवस्थामा उद्धारका लागि खानेपानीको ठूलो महत्व रहने पाठ जापानी अधिकारीहरुले कोबेबाटै सिकेका छन् । त्यसैले उनीहरुले बाँचेका नागरिकलाई पिउने पानीको स्रोत नबिग्रने गरी संरचना निर्माण गरिरहेका छन् ।

Kobe_Japan_highway_by_RockabillyRebel-5त्यस्तै फराकिला सडक उद्धारका लागि अर्काे सहयोगी वातावरण भएको उनीहरुको अनुभव छ । विद्यालय तहको पाठ्यक्रममा भूकम्प र अन्य प्राकृतिक विपद्सम्बन्धी विषयलाई समावेश गरिएका छन् र उनीहरुले भोलिको पुस्तालाई यस विषयमा थप सजग बनाउने अपेक्षा गरेका छन् ।

नेपालमा गत वैशाख १२ गते ७.६ रिक्टर स्केलको र त्यसपछि पनि दुई पटकसम्म आएका शक्तिशाली भूकम्पका कारण ठूलो क्षति पुगेको छ । यहाँ आठ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते छन् । देशका आधारभूत आवश्यकताका संरचना धेरै मात्रामा ध्वस्त भएका छन् । सरकार आफैले यसको पुनर्निर्माण गर्नसक्ने अवस्था छैन र विभिन्न दाता निकाय र देशहरुको पनि सहयोगको अपेक्षा गरिरहेको छ । दाता राष्ट्रहरुले पुनर्निर्माणका आआˆना स्वरुप तयार गरिरहेका छन् भने सरकारले पनि विभिन्न चरणमा गरी विपत्तिपछिको पुनर्निर्माणको योजना बनाइरहेको छ । तर सार्वजनिक भने भइसकेको छैन ।

यतिखेर सरकार भूकम्पपछिको उद्वार र राहातको कामपछि पुनर्निर्माणको चरणमा जुटेकोले हाम्रा लागि कोबे सहर उपयुक्त उदाहरण बन्नसक्छ । देशमा ८२ वर्षपछि आएकोे यो शक्तिशाली भूकम्पका कारण देशले यसअघि निर्माण गरेका भद्रगोल संरचनाबाट पनि धेरै कुरा सिक्नुपर्ने अवस्था छ । अब बन्ने नयाँ संरचनालाई भूकम्पप्रतिरोधी कसरी बनाउन सकिन्छ भनेर जापानको एक प्रसिद्ध सहर कोबेमा परेको विपतपछिको निर्माणबट पनि सिक्न सकिन्छ ।

कोबेले सो शक्तिशाली भूकम्पले गरेको विनासपछि कसरी त्यस सहरलाई भूकम्पप्रतिरोधी बनायो भनेर त्यसबाट पाठ सिक्न सकिएमा त्यसले आगामी दिनका लागि हामीलाई पनि विपतबाट बच्न थोरै भएपनि सहयोग पुर्‍याउने छ । पुनर्निर्माण पटक पटक गरिने र गर्न सकिने होइन । त्यसैले निर्माण भनेको पाठसिक्ने बेला पनि हो भनेर सोच्नु अहिलेका लागि हामी नेपालीलाई एक उत्तम उपाय नै हुनेछ ।

(रासस/आलेख)

Write a Comment

थप हेडलाइनहरु