• Friday, 24 November 2017
  • Nepal Time: 11:16 AM
  • Japan Time: 02:31 PM

टोक्योदेखि सिन्धुलीसम्म

रोहितकुमार अधिकारी

नेपालमा हालै गएको विनाशकारी भूकम्पले भवनहरूमा गरेको असर,यसका कारण, अनि यसबाट भविष्यमा सिक्नुपर्ने पाठसम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले प्रोफेसर र बाँकी ८ जना सहपाठीसहितको हाम्रो टोली जेठ १८ गते दिउँसो काठमाडौं ओर्लियो।

अन्तर्राष्ट्रिय एयरपोर्टमा करिब आधा घण्टामा सबै प्रक्रिया सकाएर बाहिर निस्कँदा दिउँसोको १२:३० भइसकेको थियो। हतार थियो, श्रीमतीलाई यति एयरको २:०० बजेको उडानबाट जनकपुर (घर) पठाउनुपर्ने थियो। जापानी येन साट्न एयरपोर्ट भित्रैको मनी एक्सचेन्जर नताकी धरै थिएन, बाहिरको भन्दा कम रेटमै (पछि बाहिर बुझ्दा थाहा भयो) भए पनि साटियो।

Rohit-kumar-adhikariअब डोमेस्टिक एयरपोर्ट जान हतार भइसकेको थियो, बाहिर निस्कनासाथ यौटा ट्याक्सीवाला दाइ हात समाउन आइपुगे। डोमेस्टिक एयरपोर्ट सम्म ५०० रुपियाँ लाग्ने र मिटरमा नजाने कुरा गरे, न बार्गेनिङ गर्ने समय थियो, न त अर्को ट्याक्सी गुहार्ने।

यतिबेलासम्म टोलीका अरू सदस्यहरू ठमेलमा रहेको होटेलमा पुगिसकेका थिए। होटेल पुगेर भित्र छिर्दा रिसेप्सनमा बस्ने कर्मचारीले स्वागत गर्नु त कता हो कता, कोही आएको नआएको वास्ता गरेनन्, मैले सोधेँ, उनले कोठा नम्बर बताइदिए।

एक हप्ता बसिन्जेल बिचार गर्दा कसैलाई (स्वदेशी/विदेशी) पनि स्वागत/धन्यवादका शब्दहरू प्रयोग गरेको पाइएन । मलाई स्वागत गर्नु नगर्नूले खासै फरक परेन, यसले होटेलको हस्पिटालिटीको परिचय दियो।

पाहुनाहरू भगवान समान हुन्छन् भन्थे, यहाँ पैसा तिर्ने पाहुनाहरूलाई पनि मीठो बोलीले स्वागत गर्न नसकेको देखियो। मीठो बोल्दा मन पराएर फेरि पनि त्यही होटेल रोज्दै खोज्दै आउने थिए कि कोही पाहुनाहरू ?

एक दिन पैसा साट्न ठमेलको यौटा मनी एक्सचेन्जरमा पुगेर येन साट्न मिल्ने नमिल्ने र रेट सोधेँ। उनले मसँग एक शब्द नबोली काम गर्न लागे, हे भगवान ! ग्राहक आएपछि कम्तिमा सोध्नुस् न, कुन पैसा साट्ने, कति साट्ने, मिल्छ मिल्दैन, केही त प्रतिक्रिया दिनुस । मीठो बोली सहितको व्यवहार गर्दा राम्रो हैन र ? नेपाल आइसकेपछि घर परिवारसँग भेट गर्ने मन कसलाई नहोला र। प्रोफेसरसँग अन्तिमका २ दिन बिदा मागेर कोटेश्वरबाट बीपी राजमार्ग हुँदै सिन्धुली जाने सानो गाडीमा टिकट काटियो। यहाँहरुलाई थाहै होला, बार्गेनिङ नगरी यहाँ पनि चलेन। बिहान ८:३० मा कोटेश्वरबाट हिँड्ने भनेको गाडी ९:१५ मा यात्रुहरूले किचकिच गर्दा (यति नगरी नहुने) बल्ल हिँड्यो।

खुर्कोट पुग्न लाग्दा बाटोमा कारणवश टर्निंगमा १०० मि. जति रोड वन वे रहेछ। दुवै पट्टिबाट आउने गाडीले एकअर्कालार्इ नदेख्ने र सडक विभाग वा सम्बन्धित निकायको कोही कर्मचारी त्यहाँ संकेत दिन (गाडीको आवतजावत सुचारु गराउन) उपस्थित थिएनन्। कोही ड्राइभर पर्खिने मुडमा थिएनन्, हामी चढेको गाडी २ पटक ५० मि. अघि जाँदै ब्याक हुँदै गर्यो। ड्राइभरहरूले एक अर्कालार्इ गरेको गाली प्यासेन्जरका लागि अपाच्य थियो, उनीहरूका लागि सामान्य ।

लगभग आधा घण्टापछि पेलाहा प्रवृत्तिकै माध्यमबाट गाडी अघि बढ्न सफल भयो।

आइतवारको दिन, घरबाट काठमाण्डौ फर्किनुपर्ने, गाउँबाट सिन्धुली सदरमुकामसम्म जाने लोकल गाडी बिहान ८:०० बजे आइपुग्यो। यति मान्छे कोचिएको थियो कि खुट्टाले अर्काको खुट्टा टेकिएला भन्ने डर थियो। सधैँ यतिका मान्छे सदरमुकाम आवत जावत गर्ने बाटोमा बस भने यही यौटा मात्र थियो, नचढी उपाय थिएन।

जेठको गर्मी, त्यहाँमाथि त्यतिका मान्छे, पसिनाले निथ्रुक्क भिजायो। बाटोमा जाने जति सबै मान्छे हाल्नुपर्ने, खलासीले मान्छे पछाडि धकेल्न थाल्यो, बोली र हात दुवैले। महिलाहरूलाई समेत हातले ठेल्न थाल्यो। मुखले भन भाइ, अर्काको जिउमा हात नहाल भनेर हप्काइदिएपछि उ गाडीको अगाडिको भागतिर सर्यो। भर्खरै चढेको यौटा दाइको झोला जबरजस्ती जिउबाट खोस्न खोज्यो खलासीले, आफ्नो समानमा अर्काले जबर्जस्ति गर्दा कसलाई सह्य होला र, दुर्इ बीचमा तँ तँ र म म चल्यो, र रिसको सुरमा अरू महिलाहरूलार्इ हातले अन्धाधुन्ध धकेल्न थाल्यो।

त्यहाँ उपस्थित अरु भलादमी तथा महिलाहरु रमिते बनेर हेरिरहे, त्यो खलासीको हर्कतको बिरोध गर्ने आँट कसैमा देखिएन। यौटा हेर्दा बुध्दिजिवी जस्तो देखिने दाइलाई यसको बिरोध किन गर्नुहुन्न तपाइँहरू भनेर सोध्दा उनले यो दिनैपिच्छे यस्तै हो,बोल्नुभन्दा नबोल्नु बेश भन्ने आशय प्रकट गरे। पढेलेखेका भलाद्मीहरु, आफू बच्नका लागि सार्वजनिक ठाउँमा त्यस्तो  हर्कतको विरोध नगरी चुपचाप रमिता हेरेर बसेको देख्दा दिक्क लाग्यो।

फेरि पनि त्यो खलासीलाई झपारेँ,अब चैँ बसको छतमा चढ्यो, अरू प्यासेन्जरलाई शान्ति भो । मलार्इ भने यसको यो दैनिकी मन परेन ।कन्डक्टरलार्इ बोलाएर तपार्इको गाडीमा चढ्ने यात्रुको सुरक्षा गर्ने दायित्व तपार्इको स्टाफहरूको हो,खलासीको यस्तो व्यवहार यात्रुलाई सह्य कुनै हालतमा हुँदैन, यसलाई सम्झाउनुस् या अर्को स्टाफ राख्नुस,हैन भने म ट्राफिक प्रहरीमा उजुरी दिन्छु भनेर हप्काएँ।

कन्डक्टरले नराम्रोसँग झपारेपछि खलासी छतबाट झरेन । यात्रुहरू कहाँ के कामले हिँडेका हुन्छ्न्, कति टेन्सन हुन्छ, यस्ता झन्झटले यात्रा अझै कठिन बनाइदिने स्वयं गाडीका स्टाफले ? यसरी सिन्धुली आइपुगियो।

सिन्धुलीबाट काठमाण्डौसम्म टाटा सुमोमा जाने क्रममा बाटोमा यौटा दिदीको बच्चाले नराम्रोसँग उल्टी गर्न थाल्यो। दिदीले बाटोमा खाजा खाने क्रमका होटलमा दूध किनेर बच्चालार्इ खुवाइदिएकी रहिछिन्। अब दिदी तथानाम गाली गर्न थालिन् होटलवालालार्इ।

दूध नफाटोस् भनेर होटलवालाले केमिकल मिसाएको रहेछ भन्ने कुरा थियो दिदीको। होटलवालालार्इ त दूध बिकाउनु थियो, तर यसले बिचरा बच्चाको स्वास्थ्यमा पर्ने असरको बारेमा वास्ता गरेन।

यात्रामा ड्राइभरहरूले एक अर्कालाई (साइड नदिँदा, जबरजस्ती ओभर टेक गर्दा इत्यादि) अपाच्य गाली गर्ने क्रम जारी थियो।

यी माथिका समस्याहरू हाल हाम्रो देशमा विद्यमान समस्याहरूका केही अंश मात्र हुन्। हामी देश बनेन भनेर दोष अरूलाई दिन्छौं, आफ्नै व्यवहार कहिले र कसरी सुधार्ने,अर्को मान्छेलाई कसरी आदर सम्मान गर्ने, सबै मानिसको व्यक्तिगत स्वतन्त्रताको ख्याल कसरी गर्ने, अन्याय अत्याचारको (चाहे आफूलाई होस्, या अर्को व्यक्तिलाई) विरोध कहिले गर्ने ?यस्तै साना र व्यक्तिसँग जोडिएका समस्याहरू निर्मूल हुने हो भने,प्रत्येक व्यक्ति सार्वजनिक स्थानमा स्वतन्त्र हुने हो भने र प्रत्येक व्यक्तिलेआफ्नो व्यक्तित्व र नैतिकता  विकास गर्ने हो भने देश विकासमा पक्कै टेवा पुग्नेछ।

-जापान

Write a Comment

थप हेडलाइनहरु