• Saturday, 23 September 2017
  • Nepal Time: 04:37 PM
  • Japan Time: 07:52 PM

मैले देखेको टाेकियाेकाे नेपाली दूताबास (अनुभूति)

कृष्ण के श्रेष्ठ काल्स’,  योकोहामा जापान

जापान आएपछि म, विभिन्न कामहरुको लागि जम्मा चार पटक नेपाली राजदुताबास टोकियो गएँ । हरेक पटक कुनै न कुनै कामले दूतावास पुँगे । पहिलो चोटी एमअारपी भर्नको लागि दूतावास पुगेकाे थिएँ भने दोस्रो चोटी एमअारपी लिनको लागि ।

तेस्रो पटक म बच्चाको जन्मदर्ताकाे लागि दूतावास पुगेँ । तेस्राे पटक बच्चाकाे जन्मदर्तासँगै एमअारपी पासपोर्ट एप्लार्इ गर्नको लागि गएकोे थिएँ भने चौथो पटक बच्चा को एमअारपी फर्म भर्नको लागि । तर विडम्बना, नेपाली राजदुताबासहरु मध्ये विश्वको सबभन्दा बढी तलब पाइरहेको भनेर सुनिने जापानको नेपाली राजदुताबासको काम गर्ने शैली, नेपालको मालपोत कार्यालयको जस्तै छ ।

krishna k shresthaकिन जापानी सिस्टममा चल्दैन, किन नेपाली पारामै चलेको छ राजदुताबास ? यहाँ कोही कसैलाई वास्ता छैन सोधखोज छैन, किनकी यहाँ पनि “माथिसम्म” पहुँच हुनेहरुको प्रायः सबै कामहरु माथिबाटै हुने रहेछ । मैले यसलाई म राजदुताबास ४ पटक जादाखेरि देखेको अवस्था र मैले लगायत म जस्तै सर्वसाधारणले भोगेको समस्याहरुबाट प्रस्ट पार्न उचित ठानेको छु । दूतावासबाट सेवाग्रहीले कसरी सेवा पाउने हाे भन्ने बुझ्न सकिन ।

पहिलो पटक जाँदा

MRP सम्बन्धि Form भर्ने तरिकाहरु सबै बिधिबत तरिकाले तयार पारेर गएको थिए, सायद MRP भर्ने क्रमको सुरुवात् तिर भएर होला निकै नेपालीहरुको भिड थियो अफिसमा । स्टाफ बस्ने कुनै निश्चित टेबल नभएकोले होला राजदुताबासको स्टाफ कुन चाही हो? भनेर चिन्न सायद जो कोहीलाई पनि गाह्रो पर्दो हो । एकछिन बसेपछि मात्र थाहा भयो स्टाफ पनि त्यहीं MRP form भर्न आउने नेपालीहरु संगै सोफामा बस्नुभएको रहेछ ।

सबैले आ आफ्नो फाइलहरु चेक गराएर बुझाउदै थिए, भने स्टाफले २-३ जनाको फाइल हातैमा चेक गरेर पैसा लिदै माथि रुममा बुझाउदै गर्नुहुन्थ्यो । यति सम्म कि चेक गर्नको लागि एउटा टेबलको पनि व्यवस्था गरिएको रहेनछ त्यत्रो राजदुताबासमा पनि । साथै, कसैको फर्म नमिलेको, कसैको फोटो नमिलेको, कसैको फोटोकपी नभएको आदि समस्याहरु प्रसस्तै थिए । कसैले “जति फोन गरेपनि उठ्दैन”(कम्प्युटर अपरेटरले बोल्दा बोल्दै २-३ मिनेट जाँदो रहेछ, अनि सबैले बिचैमा काटिदिने रहेछन) भन्दै र कतिले “फोटोकपी गर्न पनि टाढा सम्म जानु परेको” मा गुनासो गर्दै थिए ।

कसैकसैसँग त निकै बाझाबाझ पनि भएको थियो । अनि त्यहाँ रहेका सबैले सुझाबको रुपमा, “फर्महरु भर्न र चेक गर्न एउटा टेबल राखे हुन्न ?”, “बाहिर फोटोकपी गर्न पठाउनु भन्दा यहीं पैसा लिएर फोटोकपी गर्यो भने राम्रो हुन्न” भनेका थियौं । यो एउटा कुरा चाही सुधार भएर पछिल्लो पटक जाँदा भने बाहिर फर्म भर्नको लागि टेबल र फर्म भर्ने तरिकाहरुको फाइल बाहिर राखिएको थियो ।

दोस्रो पटक जाँदा

तयार भएको MRP लिनको लागि गएको थिएँ, निकै भिड थियो, पहिले जस्तै । कोहि के मिलेन, कोहि फोन उठेन, कोहि पैसा खाएर फर्म अन्त भर्न पठाउँछ भनेर, कोहि MRP आयो भन्ने मेल आएन भनेर गुनासो गरिरहेका थिए । हुन पनि हो, कसैकसैको MRP आएर महिनौ थन्किएर बस्दा सम्म पनि मेल नआउदो रहेछ । भने, कसैको भने नेपालमै बिबिध कारणबस महिनौ सम्म MRP नबन्दा समेत जापानमा सम्बन्धित व्यक्तिलाई कुनैपनि जानकारी नभएको पनि धेरैको समस्या हुदोरहेछ । मेरो भने MRP आएको रहेछ, धेरै बेर लागेन ।

तेस्रो पटक जाँदा

यो पटक पनि मैले राजदुताबासको वेबसाइट लगायत अन्य वेबसाइटहरु बाट पनि खोजेर बच्चा को जन्मदर्ताको लागि सम्पूर्ण कागजातहरु तयार गरेको थिएँ । तैपनि गैसकेपछि, “यो छैन”र “त्यो छैन” भनेर फर्केर आउनु भन्दा, एकचोटी फोन गरि कन्फर्म गरौ भनेर फोन गरें । उही, कम्प्युटर अपरेटरले २-३ मिनेट खाइदियो, अनि धेरै चोटी अन्तिम वाक्य सम्म सुनेर अपरेटर संग कुरा गर्न सके । अनि सोधे, “के के कागजात चाहिन्छ” भनेर, तर “वेबसाइटमा हेरेर सबै कुरा तयार पारेर आउनु, कि एकचोटी बुझ्न लै यहीं आउनु भए हुन्छ” भन्ने रेस्पोन्स पाएँ । यदि वेबसाईटनै हेरेर सबैले सबैकाम आफैले गर्न सक्ने भए फोनको के काम भयो र ?

मैले पनि, वेबसाईट नै हेरेर फर्म भरिवरि, एकचोटी फोन बाट कन्फर्म गरेर जाँदा गल्ति हुदैन भनेर त् फोन गरेको थिएँ । अर्कोकुरा, यो जापान जस्तो बिकसित, व्यस्त ठाउँमा र हरेक कुरा इन्टरनेट र हुलाकबाट गर्न सकिने ठाउंमा एउटा कामको लागि केके चाहिन्छ भनेर बुझ्नकै लागि मात्र त्यहि जानु पर्ने कुरा सुन्दा अचम्म लाग्यो । अझ हाँस्यास्पद कुरो त , कम्प्युटर अपरेटिंग सिस्टम मा समेत बिस्तृत बुझ्नु परेमा राजदुताबासको कार्यालयमै गएर बुझ्नु पर्ने भनेर गाइड गरिएको छ ।

खैर, सबै कुरा तयार गरेर गएँ, अनि बुझाए । तर एउटा फोटोकपी गर्न भुलेछु, अनि अस्थाई पासपोर्टको लागि बच्चाको फोटो चाहिन्छ भनेर नभनेको कारण ५-१० मिनेट पर रहेको कन्भिनी गएँ । दुर्भाग्यबस मेरो मोबाइल फोनको फोटोलाई कन्भिनिको प्रिन्टरले सपोर्ट नगरेको कारण मैले फोटो धुलाउन सकिन । अनि दुताबास फर्केर गएर, “मोबाइलको फोटो कम्प्युटर बाट usb मा सारेर दिनु अनि मैले कन्भिनी बाट फोटो धुलएर ल्याउछु” भनेर धेरै बिन्ति गर्दा पनि “यहाँ त्यस्तो कुनै सुबिधा छैन”, “हामीले यहाँ त्यसो गर्न मिल्दैन” भन्नुभयो । फेरि पनि आउनुपर्ने भयो भनेर “ज्यु ज्यु” गर्दा पनि काम बनेन फर्केर आएँ । मैले त सोचेको थिए, नेपाली को मन कमलो हुन्छ, नेपालीको लागि बनेको नेपाली राजदुताबासले म जस्तै हरेक जापानमा रहेको नेपालीको समस्या बुझ्छ भनेर, तर त्यसो रहेनछ । त्यति गरिदिदैमा के जान्थ्यो र राजदुताबासको ? यदि त्यति काम गरिदिएको भए मैले फेरी पनि ४ घन्टाको व्यस्त समय निकालेर फेरि धाउनु पर्ने थिएन ।

चौथो पटक जाँदा

तेस्रो पटक बच्चाको MRP aply गर्न नपाएकोले सबैकुराहरु वेबसाइटहरुमा खोजिखोजि हेरें । चाहिने कागजातहरु तयार गरें अनि कन्फर्म गर्नको लागि फेरी राजदुताबासमा फोन गरे । ४-५ चोटी फोन गरिसकेको ले गर्दा कम्प्युटर अपरेटर बोल्ने बितिकै १-५-१ (यो तरिका प्राय अरुलाई थाहा छैन, थाहा दिइएको पनि छैन, जान्न पनि निकै गाह्रो)  थिचेर अपरेटर संग छिटै सम्पर्क भयो । मैले सोधें, “बच्चाको MRP निवेदनको लागि के के चाहिन्छ? फोटो कस्तो चाहिन्छ ?”

उहाँले फेरी वेबसाइटमा हेर्नु भन्नु भयो । तर मैले जबर्जस्ति “केके चाहिन्छ” भनेर सोधेपछि यो-यो चाहिन्छ भन्ने बितीकै फोन राख्नु भयो । मैले अझै औंठा छाप, नागरिकता नम्बर हरुको बारेमा पनि सोध्ने विचार गरेको थिए तर ……के यहि नै हो त नेपाली नागरिकहरुलाई गर्ने राजदुताबासको रेस्पोन्स? एउटा फोटोकपी गर्नको लागि सिस्टम खोज्नेले, फोनमा गर्ने रेस्पोन्स को सिस्टम बारे बुझ्न जान्न पर्दैन र ?

यधपी, बेलुकी कोठामा गएर, MRP को लागि फर्म तयार गर्न लागे, कन्फ्युजन धेरै ठाउमा भयो । औठा छाप लगाउने कि नलगाउने ? नागरिकता नम्बर लेख्ने कि नलेख्ने ? आदि इत्यादी । अनि मैले एउटा फर्मको लागि ८ पन्ना अर्थात् ४ थरिको फर्म तयार पारें, एउटामा औठा छाप लागेको, अर्कोमा औठा छाप नलागेको, अर्कोमा जन्मदर्ताको नम्बर राखेर र अर्कोमा जन्मदर्ताको नम्बर नराखेर प्रिन्ट गरें भोलि के होला के भनेर ।

तैपनि चित्त बुझेन, भोलिपल्ट बिहानै १०’३० बजे फोन गरें, कन्फर्म गरें तर जन्मदर्ता गरेको ठाउँ मा “टिपेक्स लगाएर” टोकियो लेख्न भन्नु भयो अनि त्यसै गरे । कन्फर्म MRP फर्म ओके हुन्छ भन्ने विश्वास लागेन र फेरी पनि फोन गरे । तर अहिले चाही टिपेक्स लगाएको फर्मले काम गर्दैन भन्नु भयो, छिनको छिनमै ।

सबै तयार गरेर, साथमा बहिनीको बच्चाको जन्मदर्ताको कागज पनि लगेर गएँ । MRPको लागि भने केहि समस्या आएन, तर जन्म दर्ताको लागि सुरुमा बिबाह दर्ता गर्न नागरिकता र पासपोर्टको अर्को फोटोकपी चाहिदो रहेछ । राजदुताबासमा फोटोकपी गरिदिने “सिस्टम छैन”  भन्ने थाहा भएकोले म सरासर फोटोकपी गर्न बाहिर निस्किएँ । फोटोकपी गरेर फर्कदा संयोगबस मेरो एकजना साथी पनि भेटियो । सायद उहाँ पनि MRP निबेदनकै लागि आउनुभएको थियो होला । उहालाई राजदुताबासको स्टाफले ”सरलाई भेट्न आउनुभएको हो ? माथी जानुहोस” भन्नु भयो । अनि माथी गएर ३० मिनेट जतिमा तल ओर्लेर आउनुभयो, अनि स्टाफ लाई एउटा पेपर हातमा थमाएर ”यसको फोटोकपी माथी चाहियो रे” । भन्ने बितिक्कै, मलाई अनि धेरै नेपालीहरुलाई एक्पन्ना फोटोकपीको लागि ५-१० मिनेटको समय र पैसा खर्च गराउने उही “स्टाफ” केहि नबोली फोटोकपी गर्न अफिस छिर्नुहुन्छ । यस्तो देखेर , त्यतिबेला मलाई धेरै कुरा भन्ने मन थियो तर मैले केहि बोलिन, आफ्नो मन कठोर बनाएर राखें । जसले अन्ततः साच्चै जापानको नेपाली राजदुताबास पनि नेपालको मालपोतकै रुपमा देखाइदियो मेरो नजरमा ।

नत्र, जापान जस्तो बिकसित देशमा राजदुताबासमै एउटा फोटोकपी मेसिन राखेर १० येन तिर्न लगाएरै भए पनि सुबिधा दिन सकिन्थ्यो होला, कुनै पनि फर्म बुझाउने र दिने काम रिसेप्सन हलमै राख्न सकिन्थ्यो होला, मालपोतमा ओकिलले कागज बोकेर तल माथी ओहोरदोहोर गरे जस्तै स्टाफले ओहोरदोहोर गर्नु नपर्ने बनाउन पनि सकिन्थ्यो होला, पहुँच नहुनेको फोटोकपी र काम पनि समान रुपले नै सुबिधा दिन सकिन्थ्यो होला ।

Write a Comment

थप हेडलाइनहरु

    None Found