• Tuesday, 19 June 2018
  • Nepal Time: 12:55 AM
  • Japan Time: 04:10 AM

विदेशको मज्जा अर्कै छः सुनिता दुलाल

sunita dulal-2तपाईं स्वदेशमा भन्दा बढि त विदेशमै भेटिनुहुन्छ है ?

हो, दुई तीन-वर्षदेखि आधा-आधाजस्तो भइरहेको छ । वर्षमा ६ महिना जति विदेशमै हुन्छु ।

देशबाहिर जाँदा के-के कुरा मिस गर्नुहुन्छ ?

परिवारका सदस्यको अत्यधिक याद आउँछ । सबैभन्दा धेरै याद केटोकटीको आउछ । दाइका छोराछोरीसँग बसेका उनीहरुलाई हरदम सम्भिmइरहन्छु । अनि, एल्बमको काम गर्न नपाएकोमा पनि सूर्ता लाग्छ ।

विदेशमा रहँदाका रमाइला पक्षहरु के-के हुन् ?

विदेशको मज्जा अर्कै छ । धेरै फ्यानहरुसँग भेट हुन्छ । धेरै देशमा मेरो ‘उकाली ओराली’ कार्यक्रमका फ्यान हुनुहन्छ । नेपालमा हुँदा बरु भेट हुँदैनथ्यो । उहाँहरु मलाई भेट्दा मख्ख पर्नुहुन्छ, म उहाँहरुलाई भेट्दा मख्ख पर्छु ।

प्लेन चढ्दा कत्तिको डर लाग्छ ?

पहिलोपटक काठमाडौबाट पोखरा जाँदा प्लेन चढेको थिएँ । हल्का डर लागेको थियो । बरु डोमेस्टिकमा डर लाग्छ, तर पनि विदेश जाँदा डर लाग्दैन । म त प्लेनमा मज्जाले निदाइदिन्छु । प्लेनको खाना पनि मिठो लाग्छ ।

संसारमा त्यस्तो कुन ठाउँ छ जहाँ प्लेनबाट हेर्दा सबैभन्दा राम्रो देख्नुहुन्छ ?

अहिलेसम्म गएका मध्ये मलाई स्कटल्याण्ड निकै राम्रो लाग्यो । स्कटल्याण्डको भ्यु यति राम्रो छ कि शब्दमा वर्णन गर्नै सक्दिन । त्यहि भ्यु हेर्नका लागि पनि मलाई फेरि एकपटक स्कटल्याण्ड जान मन लागेको छ ।

काठमाडौ चाँही कस्तो लाग्छ ?

धेरैले भन्छन् काठमाडौ फोहोर छ । कोलाहाल छ । आफु जन्मेको ठाउँ भएर होला मलाई त काठमाडौ निकै रमाइलो लाग्छ । एअरपोर्टबाट झरेपछि काठमाडौ वरिपरिको डाँडाकाँडा देख्दा निकै रमाइलो लाग्छ ।

 तपाईंका मिल्ने साथी कति छन् ?

निकै थोरै छन् । कलेज पढ्दा पनि दिउसो कलेज र बेलुका एफएममा कार्यक्रम चलाउने गर्न थालेँ । मसँग त्यति धेरै साथी बनाउने समय नै भएन ।

फुर्सदमा के गर्नुहुन्छ ?

मलाई मन्दिर जान रमाइलो लाग्छ । फुर्सद भयो भने घुम्छु । भगवानप्रति आस्था छ । त्यहि भएर कम्पनीको नामसमेत घर नजिकैको भगवानको नाममा राखेको छु ।

sunita dulalलोकदोहोरी गाउनेलाई अरुको तुलनामा हेपिन्छन् किन ? 

मलाई त त्यस्तो लाग्दैन । अहिले त स्वदेशदेखि विदेशमा आयोजना हुने हरेक कन्सर्टमा लोकगीत अनिवार्य हुन थालेको छ । दोहोरीविनाको कन्सर्ट खल्लो हुन्छ । यस्तो अवस्थामा दोहोरी गाउनेलाई हेप्छन् कसरी भन्ने ? मलाई त लाग्छ अहिले ५ वटा फिल्म खेलेको हिरो-हिरोइनलाई भन्दा एउटा राम्रो लोकगीत गाउनेलाई दर्शकले बढी सम्झिन्छन् ।

तपाई प्रायः सारीमा देखिनुहुन्छ नि किन ?

कुनै पनि नारीलाई सारी एकदमै सुहाउँछ । मलाई पनि धेरैले सारी सुहाएको छ भन्छन् । लोकगीत गाउने भएकाले पनि सारी बढी लगाउछु ।

लोकगीत र सारी दुवै हाम्रा संस्कृति हुन् । पाइन्ट लगाएर पनि लोकगीत गाउन त पाईन्छ । तर, सारी लाएर स्टेजमा जाँदा मलाई छुट्टै रमाइलो लाग्छ ।

 स्कुले जीवन सम्झिदा ?

निकै रमाइलो लाग्छ । स्कुलमा धेरै गाउथेँ । सिन्धुपाल्चोकको जलबिरेमा म जन्मेको । बलेफी खोला बगरिहेको याद आउछ । खोलाकै किनारमा स्कुल थियो ।

 हिरोईन हुने प्रस्ताव आएन ?

प्रस्ताव त आयो । तर, मलाई हिरोइन हुने रहर जागेन । बरु भविष्यमा म आफै फिल्म बनाउन चाहन्छु । सन्देश मुलक फिल्म बनाउन चाहन्छु । थाह छैन, त्यो फिल्ममा म आफैं खेल्छु वा अरुलाई मौका दिन्छु ।

भिडियोमा चाँही अरुलाई खेल्न दिनु हुन्न ?

भिडियोमा चाँही मैले भन्दा पनि निर्देशक र एल्बम उत्पादकले मलाई नै कर गरेकाले आफैं अभिनय गरेको हुँ । मेरो एल्बम प्रायः तीज केन्दि्रत हुने भएकाले आफैं नाच्ने गरेकी छु ।

Write a Comment

थप हेडलाइनहरु

    None Found