• Friday, 24 November 2017
  • Nepal Time: 11:21 AM
  • Japan Time: 02:36 PM

मानवीय सहयोगमा पनि राजनीति ! कता जाँदैछ नेपाली समाज

dinesh ji

नरेन्द्र बस्नेत”दिनेश”

हामी नेपाली मनकारी छौं, अत्यन्तै मनकारी छौं । त्यसैले त सधैं आफूले पसिना बगाएर गरेको कमाइ क्षणभरमै अरुको सहयोगको लागि दिन तुरुन्तै तत्पर भैहाल्छौं ।

यसैले गर्दा हो कि, आजभोलि जापानमा मात्रै होइन सम्भबतः नेपालीहरु पुगेका अधिकांश देशहरुमा फेसबुक चन्दा आतंकले यस्तरी जरो गाडेको छ कि जसले सहयोगको नाममा जातीय रंग, क्षेत्रीय रंग र प्रदेशीय रंगमा नजानिदो पाराले नेपालीहरुलाई विभाजित गराउँदै गैरहेको आभास हुन थालेको छ ।
अहिले जापानमा चर्चामा रहेको बिद्यार्थी बहिनी भिमकुमारी श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग जुटाउन भनेर जापानमा सक्रिय संस्थाहरु दिनरात आफ्नो बलबुतोले भ्याएसम्म लागिरहेका छन । यसै क्रममा जापानमा रहेको पुरानो संस्था मध्येको एक नेपाली बिद्यार्थीहरुको साझा संस्था नेपाली बिद्यार्थी समाज जापान (नेसाज)ले नेपाली मुटुरोगी भिमाकुमारी श्रेष्ठको सहयोगका लागि ५०,००० को प्रारम्भिक कोष घोषणा गर्दै थप सहयोगका लागि जापानबासी नेपालीहरूलाइ अपिल गर्दै पहिलो पल्ट बिज्ञप्ति सार्वजनिक गर्यो ।
नेसाजले विज्ञप्ती निकाल्दै – ‘हामी जस्तै अध्ययन को एउटा सपना बोकेर सन् २०१४ मा जापान आएकी चेली भिमा कुमारी श्रेष्ठको मुटुको भल्बमा गम्भीर समस्या देखापरेर उपचाररत रहेको खबर सुन्नुपर्दा हामी अत्यन्तै दुखित भएका छौं । मुटुको भल्वले काम गर्न नसक्ने भै तेस्रो चरणमा पुगिसकेको तर थप उपचारका लागि श्रेष्ठको आर्थिक अबस्था पनि कमज़ोर रहेको छ ।
मुटुको भल्ब परिवर्तनको लागि पनि १५० मान आबश्यक रहेको र सोको लागि दुःखमा साथी बन्ने निर्णय नेसाजले गरेको छ । नेसाजले संस्थाको बचत कोषबाट २०,००० येनसाथै कार्यसमितिका सबै सदस्यले ब्यक्तिगत सहयोग गरी ५०,००० येनको सहयोग कोष स्थापना गरी सम्पूर्ण जापानबासी नेपालीहरुलाई सहयोगमा एक्यबद्दता जनाइदिन अनुरोध गर्यो ।
अर्कोतिर जापानमा बिमा (होकेन) हुनेहरुको लागि लाग्ने अत्यधिक खर्च पनि न्यूनतम खर्चमा गराउन सकिने प्राबधान भएकोले त्यसको लागि ओखलढुंगा घर भएकी श्रेष्ठको निम्ति पूर्वी नेपाल बिकास सहकार्य केन्द्रका साथीहरु अस्पतालदेखि होकेन कार्यालय लगायतका ठाउँहरुमा खर्च कसरी कम गराउन सकिन्छ भन्दै सक्रिय भएर लागे ।
यो हप्ता जापानको अनलाइन मेडिया र फेसबुकमा भाइरल बनेको यो समाचार सुन्ने र पढ्नेहरुले जापान बाहिरबाट पनि सहयोग गरौं भन्दै कमेन्टको वर्षा नै गराउन थाले । तर, कसैले पनि एकत्रित भएर कसरी सहयोग गर्ने भन्नेतिर सोच्न सकेनन् अथवा सस्तो लोकप्रियताको यो अवसर गुम्ला भनेर सोच्ने फुर्सद पाएनन् ।
जापानमा चन्दा संकलनको यो पहिलो संस्करण हैन । यो अनबरत रुपमा चलिरहेको छ । यसको नियन्त्रण र निराकरण त्यति सजिलो होला जस्तो पनि छैन यद्यपि सोच्नुपर्ने बेला भने भएको छ ।
च्याउ जस्तै उम्रेका संस्थाहरुले मात्रै नपुगेर व्यक्तिगत रुपमा चन्दा उठाउनेहरु पनि त्यत्तिकै छन् । जापानको नियम कानुन अनुसार जाने हो भने चन्दा उठाउदा पनि उठेको रकमबाट कर तिर्नुपर्ने व्यवस्था छ तर यो बिषयमा चन्दा उठाउन अस्वस्थ प्रतिस्पर्धा गर्नेहरु कति जानकार हुनुहुन्छ थाहा भएन ।
नेसाज आफूले ५०,००० येनको कोष गठन गर्दै सम्पूर्ण जापानबासी नेपाली र संघ संस्थालाइ आफ्नो अभियानमा एक्यबद्धता जनाउँदै भिमकुमारी श्रेष्ठको सहयोगका लागि गरेको अपिल स्वीकारेर सबैले एकताको संदेश दिदै सहयोग गरेको भए जापानबासी नेपालीमा एउटा नयाँ सन्देश जाने थियो, प्रवासमा परोपकारी कार्यको एउटा नमूना पेश हुने थियो,बिडम्बना त्यसो हुन सकेन । सबैले आ आफ्नै तरिकाले चन्दा संकलन गरी भिमकुमारी श्रेष्ठलाइ बुझाउनेतिर तँछाड मछाड गर्न थाले र यो क्रम अझै चलिरहेको छ । कसैले जातीय संस्थाबाट सुरु गरे, कसैले राजनीतिक संस्थाबाट पनि सुरु गरे । एनआरएनको केही क्षेत्रीय समितिहरु लगायत अन्य संघसंस्थाहरु पनि त्यत्तिकै तँछाड मछाड गरेर लागे । तर, ठूलो मन भएका हामी नेपालीहरुमध्ये कसैले पनि एकताको संदेश दिदै अगाडी बढौं भन्नेतिर बिबेक पुर्याउन सकेनौं, अझ भनौं मन गरेनौं ।
अभिभाबकीय संस्था भएर पनि एनआरएन जापानले यस बिषयमा केही बोल्न सकेन, सिवाय रमिते हुनु बाहेक अनि यसका क्षेत्रीय समितिहरुले पनि त्यसै गरे जुन केही जातीय र राजनीतिक संस्थाहरुले गरे । परिणाम सबैले आआफ्नो तरिकाले रकम संकलन गरे र गर्दैछन् आजका दिनसम्म । तथापी कसैले पनि एकत्रितभै एकताको संदेश दिदै अगाडी बढ्ने खालको बाटो भने देखाएनन् ।
बढ्दो चन्दा आतंकलार्इ नियन्त्रण गर्ने अर्थात् सुब्यवस्थित गर्नका लागि सबै संघसंस्थाहरुले सस्तो लोकप्रियताका लागि सामाजिक असामनजस्य र मतभेद बढाउने खालका कुराहरुलाई रोक्ने अथवा नियन्त्रण तथा ब्यबस्थित गर्नेतिर लाग्दा भोलिको जापानबासी नेपाली समाजको उदाहरणीय रुप नदेखिएला भन्न सकिन्न । यसलाई आगामी दिनमा ब्यबस्थित गरी अगाडी बढाउनका लागि एनआरएन जापानले नेतृत्वदायी भूमिका खेल्दै जापानमा सक्रिय सम्पूर्ण संघसंस्थाबीच छलफल गरी अगाडी बढ्नु आजको आबश्यकता हो ।
जापान बसाइको झन्डै ११ बर्षको अनुभवमा आफ्नो समय र हैसियत अनुसार सामाजिक कार्यमा समर्पित गर्दैगर्दा सहयोगको लागि एक येन पनि खर्च गर्न नचाहने केही पात्रहरु यसपटक सहयोग उठाउनलार्इ सक्रिय देखिएको कुरा अत्यन्त सकरात्मक लाग्यो । वहाँहरुलाई राजनीतिक डोरीले तान्यो अथवा जातीय डोरीले नै तान्यो जेले ताने पनि सहयोगी भावनाको जागृत गराएकोमा खुसी लागेको छ ।
यस्ता किसिमका सहयोगहरु सबै संघसंस्थाहरु एकत्रित भै अभियानको प्रमुख जिम्मेवारी लिएर अगाडी बढेको अर्थात् सहयोगको प्रकृति अनुसार नजिक रहेको अभियान सुरु गर्ने संस्थाप्रति एेक्यबद्दता जनाउँदै सामाजिक एकताको सन्देश दिन नसकेकोमा भने दु:ख लागेको छ ।
आशा छ, भोलिका दिनहरुमा जापानमा सक्रिय संघसंस्थाहरुले सस्तो लोकप्रियताभन्दा आपसी एकतालाइ महत्त्व दिदै आफ्नो संकुचित मानसिकताबाट केही माथि उठी जापानमा बस्ने नेपालीहरुका लागि मात्र हैन नेपालमा आइपर्ने समस्याहरुमा एकत्रित भै एकताको संदेश दिन अगाडी बढ्नेछन् ।
अन्त्यमा, सम्पूर्ण सहयोगी मनहरुलाई म हृदयदेखि नै धन्यबाद दिन चाहन्छु । भिम कुमारी श्रेष्ठका लागि मैले पनि आफूले सकेको सहयोग गरेको छु यद्यपि यस्तो खालको सहयोगलाइ जातीय, राजनीतिक रंग नदिएर एउटा नेपालीको परिचय दिदै एकत्रितभै एकताको संदेशको साथमा गर्न पाए सुनमा सुगन्ध हुने थियो ।

(लेखक-एन आर एन जापान कान्साई क्षेत्रीय समिति जापानको निवर्तमान संयोजक हुनुहुन्छ )

Write a Comment

थप हेडलाइनहरु