• Saturday, 22 July 2017
  • Nepal Time: 10:20 PM
  • Japan Time: 01:35 AM

तरकारी बेच्नेको छोराले दिलाए भारतलाई पाराओलम्पिकमा स्वर्ण

rioएउटा थोत्रो साइकलको सहाराले घर–घरमा तरकारी बेच्दै आइरहेकी भारतको पश्चिमी राज्य तमिलनाडुकी एक महिला आफ्नो छोराको सफलतालाई लिएर अहिले गदगद छिन्।
थङ्गावेलु मरियप्पन, भारतलाई ब्राजिलको रियो पाराओलम्पिकमा स्वर्ण दिलाउने एक मात्र एथलेट। जसले रियो पाराओलम्पिकको पोलजम्प स्पर्धामा भारतलाई स्वर्ण दिलाएका थिए। उनको यो सफलतापछि उनी जन्मिएको राज्य तमिलनाडु मात्र होइन, पुरै भारतमा उनको घरको संघर्षको कहानी सुनिन थालेको छ। २१ वर्षिय मरियप्पनले हाइजम्पको टि ४२ स्पर्धामा १ दशमलव ८९ मिटरको उचाई छुदैँ स्वर्ण जितेका थिए।
मरियप्पनले ५ वर्षको उमेरमा सडक दुर्घटनामा आफ्नो एउटा खुट्टा गुमाएका थिए। बाटोमा आमासँगै हिडिरहेको बेला पछाडिबाट एउटा गाडीले टक्कर दिँदा उनको एउटा खुट्टा काम नलाग्ने गरि काट्नु परेको थियो। छोराको त्यो उपचारका लागि मरियप्पनकी आमाले ५ लाख रुपियाँ ऋण लिएकी थिइन्। उनी त्यो ऋण चुक्ता गर्न अहिले पनि घर–घरमा पुगेर तरकारी बेच्दै आइरहेकी छिन्।
यस्तो अवस्थामा पनि उनले आफ्नो छोराको खेलाडी बन्ने सपनालाई कहिल्यै मुर्छाउन दिइनन्। रियो पाराओलम्पिकमा छोराले दिलाएको सफलतापछि अब यो परिवारको दुःखको दिन समाप्त हुँदैछ। किनभने तमिलनाडु सरकारले मात्र मरियप्पनको सफलताका लागि ३ करोड २० लाख रुपियाँबाट पुरस्कृत गर्ने बताइसकेको छ। यस्तै भारतीय खेल मन्त्रालयले पुरस्कारस्वरूप १ करोड २० लाख रुपियाँ दिँदैछ।
भारतीय क्रिकेटका पूर्व बिस्फोटक ब्याट्सम्यान वीरेन्द्र सेहवागले ट्विट गरेर मरियप्पनको सफलताबाट अभाव र गरिबीको बहाना बनाएर बाटो बिराउने भारतीय युवाहरूले पाठ सिक्नु पर्ने बताएका छन्। उनले भारतीय खेल क्षेत्रप्रति व्यंग गर्दै मरियप्पनको सफलताप्रति खुसी जनाएका छन्।
भारतले १५ दिनअघि रियोमा सम्पन्न भएको गृस्मकालीन ओलम्पिकमा १ सय १९ जनाको ठूलो दल पठाएको थियो। जसमा कसैले स्वर्ण जित्न सकेका थिएनन्। जबकी यसका लागि ५० करोडभन्दा बढी रकम खर्च भएको थियो। रियो पाराओलम्पिकमा कूल १७ भारतीय खेलाडीले भाग लिएका थिए। यसमा ५ करोड रुपियाँ मात्र खर्च गरिएको थियो।

Write a Comment

थप हेडलाइनहरु

    None Found